हलिं नेवाः गुथिको राष्ट्रिय सम्मेलन बनेपामा हुने

१७ वर्षअघि स्थापना भएको गुथिले देशका विभिन्न जिल्लाको बस्तीमा नेपाल भाषा लिपि, संस्कृति, रहनसहन, व्यवसाय, संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्दै आइरहेको छ ।

फाल्गुन ४, २०८२

ज्योती श्रेष्ठ

Halim Newa: Guthi's national conference to be held in Banepa

काभ्रेपलाञ्चोक — हलिं नेवाः गुथिको १७औं राष्ट्रिय सम्मेलन काभ्रेपलाञ्चोकको बनेपामा हुने भएको छ । आयोजक हलिं नेवाः गुथि काभ्रे मिसा कचा आज पत्रकार सम्मेलन आयोजना गर्दै ९ फागुनमा बनेपामा सम्मेलन आयोजना गर्न लागेको जनाएको हो ।

सम्मेलनमा देशभरका ८० भन्दा बढी शाखाबाट ८ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने काभ्रेपलाञ्चोक मिसा कचाका अध्यक्ष अल्का जोशीले जानकारी दिइन् ।    

सम्मेलनका अवसरमा बनेपामा सांस्कृतिक पदयात्रासमेत आयोजना हुनेछ । सांस्कृतिक पदयात्रामा लाखे नाच, धिमे बाजा, लाखे प्याख, नेवारी बाँसुरी, नायश्वि बाजा पनि सहभागी गराइने आयोजकले जनाएको छ ।

गुथिका केन्द्रीय अध्यक्ष सुरेश सैंजूले हलिं नेवा गुथि संसारभर रहेका नेवा समुदायको साझा संस्था भएको र नेवा संस्कृतिको संरक्षण सम्वर्द्धनमा गुथिले काम गर्दै आइरहेको बताए । प्रत्येक वर्ष फागु पुर्णिमाको ८ दिनअघि सम्मेलन आयोजना गर्दै आएको सैंजूले जानकारी दिए । उनका अनुसार १७ वर्षअघि स्थापना भएको गुथिले देशका विभिन्न जिल्लाको बस्तीमा नेपाल भाषा लिपि, संस्कृति, रहनसहन, व्यवसाय, संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्दै आइरहेको छ । गुथिको नेपाल र अन्य मुलुकमा गरी १ सय ४७ वटा शाखा छन् । 

हलिं नेवा गुथि काभ्रे मिसा कचाकी संस्थापक अध्यक्ष ईश्वरी वादे श्रेष्ठले प्रत्येक २ वर्षमा गुथिको नेतृत्व परिवर्तन सम्मेलन आयोजना हुने र यसपटक भने साधारणसभामात्रै हुने जानकारी दिइन् ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully