मतपेटिका सरसफाईमा जुटे निर्वाचन कर्मचारी

निर्वाचन कार्यालयका कर्मचारीले यसअघिका निर्वाचनमा प्रयोग भएका मतपेटिकामा लगाइएका सिल हटाउने र सफाइ गरेर प्रयोग योग्य बनाउन लागेका हुन् ।

माघ २७, २०८२

प्रताप विष्ट

Election workers busy cleaning ballot boxes

हेटौंडा — २३ दिनपछि हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय हेटौंडाले मतदानस्थलमा प्रयोग हुने मतपेटिका सरसफाइ गरेर व्यवस्थित बनाउने काम थालेको छ ।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय हेटौंडाले मतपेटिका सरसफाइ गरेर व्यवस्थित बनाउन लागेको हो । 

निर्वाचन कार्यालयका कर्मचारीले यसअघिका निर्वाचनमा प्रयोग भएका मतपेटिकामा लगाइएका सिल हटाउने र सफाइ गरेर प्रयोग योग्य बनाउन लागेका हुन् । एक सातादेखि दुई जना कर्मचारीले मतपेटिकाको सरसफाई गरिरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

मकवानपुरका १६७ मतदानस्थलका ३७४ मतदान केन्द्रका लागि करिब १ हजार मतपेटिका तयारी अवस्थामा राख्न लागेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी ताराप्रसाद आचार्यले बताए । एउटा मतदान केन्द्रमा प्रत्यक्ष र समानुपातिक मतपत्रका लागि दुई वटा मत पेटिकाका दरले पठाइनेछ । १ हजार मतदाता भएका क्षेत्र थप एक पेटिका पठाइने छ । जगेडाका लागि झण्डै १ सय भन्दाबढी मतपेटिका रहने प्रवक्ता आचार्यले बताए । 

अस्थायी मतदान केन्द्रका लागि पनि करिब ५ वटा मतपेटिका आवश्यक पर्छन् । २०७९ को निर्वाचनमा अस्थायी मतदाताको मतदानस्थल जिल्ला प्रशासन कार्यालय र क्षेत्रीय कारागार भीमफेदीमा राखिएको थियो। मकवानपुर-१ का ६२ वटा मतदानस्थलमा १७८ मतदान केन्द्र छन् । क्षेत्र नम्बर २ का १०५ मतदानस्थलमा १९६ मतदान केन्द्र छन् । मकवानपुर-१ मा १ लाख ५८ हजार ४३५ र २ मा १ लाख ५६ हजार ८९९ मतदाता छन्। 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully