मकवानपुरका ४५ जनाले अझै हतियार बुझाएनन्

अनुमति लिएर हतियार राखेकामध्ये अझै ४५ जनाले बुझाउन बाँकी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी पुस्कर बोगटीले बताए ।

माघ २६, २०८२

प्रताप विष्ट

45 people from Makawanpur have not yet surrendered their weapons

हेटौंडा — फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरको आग्रह अनुसार सोमबारसम्म १५ जनाले मात्र इजाजत प्राप्त निजी हतियार प्रहरीलाई बुझाएका छन्।

जिल्ला प्रहरी मकवानपुरका अनुसार जिल्लाभर ६० जनाले हतियार राख्ने अनुमति लिएका छन् । अनुमति लिएर हतियार राखेकामध्ये अझै ४५ जनाले बुझाउन बाँकी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी पुस्कर बोगटीले बताए । 

निर्वाचन सकिएपछि चैत २० गते ती हतियार सम्बन्धित धनीलाई नै फिर्ता गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तोकिएको समयमा हतियार नबुझाउनेलाई कारबाही गरिने डीएसपी  बोगटीले बताए । जिल्ला प्रशासन कार्यालय मकवानपुरले माघ अन्तिमसम्म आफुसँग भएका हतियार बुझाउन सार्वजनिक सूचना गरेको थियो । 

निर्वाचन सुरक्षाका लागि मकवानपुरमा करिब ४ हजार सुरक्षाकर्मी र २ हजार १ सय २१ जना  निर्वाचन प्रहरी परिचालन गर्ने तयारी गरिएको छ ।

जिल्ला सुरक्षा समितिले सुरक्षा चुनौतीका आधारमा १६७ मध्ये १९ मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखेको छ। विशेषगरी राक्सिराङ, बकैया र बागमती गाउँपालिकाका क्षेत्रका केही मतदानस्थलाई सुरक्षाको दृष्टिकोणले बढी निगरानीमा राखिएको छ।

यस्तै, ६० मतदानस्थल ‘संवेदनशील’ र ८८ वटा सामान्य सूचीमा रहेका छन्। दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा १६७ मतदानस्थल र ३७४ मतदान केन्द्र छन् । मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता छन् । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully