भरतपुरमा आइतबारदेखि अन्तराष्ट्रिय डेरी प्रदर्शनी

दुध उत्पादनसँग सम्बन्धित विभिन्न स्टल रहने एक्स्पो माघ २९ गते बिहीबारसम्म चल्ने छ ।

माघ २४, २०८२

रमेशकुमार पौडेल

International Dairy Exhibition to begin in Bharatpur from Sunday

What you should know

चितवन — भरतपुरको औद्योगिक प्रदर्शनी केन्द्र (एक्स्पो सेन्टर)मा आइतबारदेखि अन्तराष्ट्रिय डेरी प्रदर्शनी (एक्स्पो) सुरु हुँदैछ ।

दुध उत्पादनसँग सम्बन्धित विभिन्न स्टल रहने एक्स्पो माघ २९ गते बिहीबारसम्म चल्ने छ । चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले संयुक्त रुपमा एक्स्पो आयोजना गरेका हुन् । गत वर्ष राष्ट्रिय स्तरको डेरी एक्स्पो भएको थियो ।

‘गत वर्ष राष्ट्रिय डेरी एक्स्पो हुँदा प्रदर्शक, दर्शर्क, र सम्बन्धित अन्य सरोकारवाला निकायले डेरीको अन्तराष्ट्रिय प्रदर्शनी गर्न दिएको सुझाव अनुसार यो पटक भारतका विभिन्न प्रदर्शक सहभागी गराएर अन्तराष्ट्रिय एक्स्पो आयोजना गरेका छौं,’ चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले भने । 

‘डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा सम्वृद्धि’ भन्ने मूल नाराका साथ प्रदर्शनी गर्न लागेको उनले बताए ।
डेरी उद्योग र दुध उत्पादनका क्षेत्रमा नयाँ नयाँ प्रविधि आइरहन्छन् । भारतमा पनि यस्ता एक्स्पो विभिन्न सहरमा बेलाबेलामा हुने गर्छन् । ‘दुध उत्पादन र डेरी उद्योगका क्षेत्रमा आएको नयाँ औजार, उपकरण, विधि, प्रविधि देशमै जान्न पाउने अवसर दिन हामीले यस्तो प्रदर्शनी गर्न लागेका हौं,’ चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले भने ।

प्रदर्शनीमा एक सय हाराहारी स्टल रहने छन् । स्टलका साथै डेरीसँग सम्बन्धित विभिन्न गतिविधि यो अवधिमा हुने बगालेले बताए । मानव स्वास्थ्यका लागि दुधको आवश्यकता र महत्वका बारेमा वक्तृत्वकला प्रतियोगिता, दुध उत्पादनको वर्तमान अवस्था र बजारका बारेमा विचार गोष्ठी, दुध उत्पादनसँग सम्बन्धित हाजिरीजवाफ प्रतियोगिता एक्स्पो अवधिमा हुने उनले जानकारी दिए ।

एक्स्पोले दुध उत्पादनमा लागेका किसान, दुग्ध सहकारीमा आवद्ध व्यक्ति, साना ठूला सवै खाले डेरी उद्योगीले लाभ लिन सक्ने बगालेको भनाइ छ । उन्नत जातका गाई प्रदर्शनीमा पनि राखिने छन् । डेरी फूड फेस्टिबल पनि हुने उनले बताए । उत्कृष्ट दुग्ध सहकरीलाई सम्मान गर्ने कार्यक्रम पनि राखेको बगालेले बताए । देशभरबाट करिब ५० हजारले एक्स्पो अवलोकन गर्ने आयोजकको अपेक्षा छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully