जाइका अलमनाई एसोसिएसन फोरम अफ सार्कको अध्यक्षमा भुसाल

भुसाल हाल नेपाल जाइका अलमनाई एसोसिएसनका अध्यक्षसमेत हुन् । यसअघि उनी सन् २०१७ देखि हालसम्म जाफ्सको महासचिवको जिम्मेवारीमा थिए ।

माघ २४, २०८२

अनिश तिवारी

Bhusal elected as president of JICA Alumni Association Forum of SAARC

What you should know

सिन्धुपाल्चोक — जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को जाइका अलमनाई एसोसिएसन फोरम अफ सार्क कन्ट्रिज (जाफ्स) को अध्यक्षमा रामचन्द्र भुसाल निर्वाचित भएका छन् । 

श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित ‘दक्षिण एसियाको सामाजिक तथा आर्थिक विकासमा जापानको योगदान’ विषयक तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनपछिको निर्वाचनमार्फत शनिबार भुसाल निर्विरोध अध्यक्षमा चयन भएका हुन् । 

'शनिबार तीनदिने सम्मेलन सकिएको छ, निर्विरोध निर्वाचित हुन पाउँदा जिम्मेवारी बढेको महसुस भएको छ, जापानबाट इमान्दारिता, जवाफदेहिता, अनुशासन, समयनिष्ठता र पेशागत मिहिनेत सिक्नुपर्ने देखिन्छ,' भुसालले भने ।

भुसाल हाल नेपाल जाइका अलमनाई एसोसिएसनका अध्यक्षसमेत हुन् । यसअघि उनी सन् २०१७ देखि हालसम्म जाफ्सको महासचिवको जिम्मेवारीमा थिए । यस सम्मेलनमा नेपालतर्फबाट जानका अध्यक्ष भुसाल र उपाध्यक्ष किरण रुपाखेतीले प्रस्तुति दिएका थिए । भुसालको नेतृत्वमा नेपालबाट छ सदस्यीय टोलीले सहभागिता जनाएको थियो । 

श्रीलंकाका लागि जापानी राजदूत मिस्टर आकिको इसोमाताले जाफ्सले जापान र सार्क क्षेत्रका देशहरुबीच सुमधुर सम्बन्ध कायम राख्दै सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

यस्ता अन्तर्राष्ट्रिय सेमिनारले विभिन्न देशका अलमनाई सदस्यबीच ज्ञान र अनुभव आदान–प्रदानमा सहयोग पुर्‍याउने उनको भनाइ थियो । जाइका श्रीलंकाका प्रमुख केन्जी कुरोनुमाले विश्वव्यापी सामाजिक तथा आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र सद्भाव अपरिहार्य रहेको बताउँदै जाइका अलमनाईहरूबीचको सञ्जाल, समन्वय र एकतालाई थप सुदृढ गर्न जाइकाको निरन्तर सहयोग रहने स्पष्ट पारे । 

सेमिनारको अध्यक्षता गरेका श्रीलंका जाइका अलमनाई एसोसिएसनका अध्यक्ष एस.एम. साथियाकामाले आफ्नो संस्थाले पहिलोपटक यति ठूलो अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्न पाएको भन्दै यसले जापान–श्रीलंका तथा जापान–सार्क राष्ट्रहरूबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा जानकी महासचिव शान्तिलक्ष्मी शाक्यले संस्थाका गतिविधिबारे प्रस्तुति दिएकी थिइन् भने सार्क क्षेत्रका अन्य देशका जाइका अलमनाई महासचिवहरूले आ–आफ्ना देशका गतिविधि प्रस्तुत गरेका थिए । सन् २००८ मा स्थापना भएको जाफ्सको सचिवालय सन् २०१७ देखि काठमाडौंमा रहेको छ ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully