निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढंगमा सम्पन्न गराउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री अर्याल
What you should know
नुवाकोट — गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढंगमा तोकिएकै मितिमा देशैभर सम्पन्न हुने बताएका छन् ।
आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन तयारीसम्बन्धी नुवाकोट र धादिङ जिल्लाको स्थलगत निरीक्षणको क्रममा शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयहरू पुगी उनले उक्त धारणा राखेका हुन् । उनले भने, 'चुनाव स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढंगमा गराउन हामी पूर्णरूपमा प्रतिबद्ध छौं र त्यो कुरा तपाईँहरूले हाम्रो आचरण र व्यवहारबाट पनि महसुस गरिसक्नु भएको छ र गर्दै पनि जानु हुनेछ ।' उनले चुनावमा अहिले चलिरहेको मिथ्या र भ्रामक सूचनाहरूबाट सचेत भई आ-आफ्नो निर्वाचन तयारीमा लाग्न सम्बद्ध सबै पक्षसँग आग्रहसमेत गरे ।
नुवाकोटका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले प्रस्तुत गरेको निर्वाचन तयारीबारेको प्रस्तुतीकरण हेरिसकेपछि गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएर जिल्लामा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका निरीक्षण टोलीमा रहेका गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्लेले जानकारी दिए ।
निरीक्षणका क्रममा मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले कार्यालयले हालसम्म गरेका तयारीबारे टोलीलाई जानकारी गराएका थिए । बैठकमा जिल्लाको दुईवटै निर्वाचन क्षेत्रका जिल्ला निर्वाचन अधिकृतहरू, जिल्लास्थित सबै सुरक्षा निकायका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।
निरीक्षण भ्रमणपछि जानकारी दिँदै मन्त्रालयका प्रवक्ता काफ्लेले नुवाकोट र धादिङ जिल्लामा हालसम्म जिल्ला निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतहरूको राम्रो समन्वयमा जिल्लाको निर्वाचनको तयारी प्रभावकारी रूपमा अघि बढेको बताए ।
आजै गृहमन्त्री अर्यालसहितको सोही टोली नुवाकोटबाट धादिङ पुगी त्यहाँको समग्र सुरक्षा अवस्था र निर्वाचन तयारीबारे जिल्ला सुरक्षा समितिका पदाधिकारी र मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकृतहरूसँग जानकारी लिएको छ । टोलीले जिल्लामा आइपुगेका निर्वाचनसम्बन्धी बन्दोबस्तका सामग्रीहरूको समेत अवलोकन गर्यो ।
टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र गृहमन्त्री अर्यालका सचिवालय सदस्यहरू सहभागी छन् ।
