मकवानपुरका २१ उम्मेदवारले लिए बै‌ंक खाता खोल्न सिफारिस

बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार शुक्रबारसम्म दुवै निर्वाचन क्षेत्रका ४४ उम्मेदवारमध्ये २१ जनाले निर्वाचन प्रयोजनका लागि नयाँ बैंक खाता खोल्न सिफारिस लिएका हुन् ।

माघ २४, २०८२

प्रताप विष्ट

21 candidates from Makawanpur receive recommendation to open bank accounts

हेटौंडा — मकवानपुरमा २१ जना उम्मेदवारले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैंक खाता खोल्न सिफारिस लिएका छन् ।

बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार शुक्रबारसम्म दुवै निर्वाचन क्षेत्रका ४४ उम्मेदवारमध्ये २१ जनाले मात्रै निर्वाचन प्रयोजनका लागि नयाँ बैंक खाता खोल्न सिफारिस लिएका हुन् ।

निर्वाचन आचारसंहिताअनुसार कुनै पनि उम्मेदवारले निर्वाचनमा हुने खर्च तथा प्राप्त गर्ने सहयोग बैंकिङ प्रणालीबाट मात्रै गर्नु पर्नेछ । २५ हजारभन्दा बढीको सहयोग तथा खर्च बैंकबाटै र त्यसभन्दा कमको नगदै लेनदेन गरे पनि रसिद भने दाखिला गर्नुपर्ने हुन्छ ।

मकवानपुर—१ मा २१ र २ मा २३ जना उम्मेदवार छन् । उम्मेदवारहरुले निर्वाचन प्रयोजनका लागि जुनसुकै बैंकमा पनि छुट्टै खाता खोल्नुपर्ने हुन्छ । त्यसका लागि निर्वाचन कार्यालयले सिफारिस दिने गरेको छ । मकवानपुरको हकमा उम्मेदवारहरुले ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था रहेको छ ।

छुट्टै खाता नखोल्ने र खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई आचारसंहिता उल्लंघन गरेको विषयमा स्पष्टीकरण सोधिने, एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी खारेजीसम्मको कारबाही  गर्न सक्ने अधिकार निर्वाचन अधिकृतलाई रहेको छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully