निर्वाचन आयोगबाट कार्यविधिअनुसार निर्देशन आएपछि बुधबार निर्वाचन कार्यालय हेटौंडाले मकवानपुरका सबै प्रतिनिधिसभा सदस्य उम्मेदवारहरुलाई पत्राचार गरेको हो ।
What you should know
हेटौंडा — जिल्ला निर्वाचन कार्यालय हेटौंडाले दुवै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवारहरुलाई निर्वाचन प्रयोजनाका लागि छुट्टै बैंक खाता खोल्न पत्राचार गरेको छ ।
निर्वाचन आयोगबाट कार्यविधिअनुसार निर्देशन आएपछि बुधबार निर्वाचन कार्यालय हेटौंडाले मकवानपुरका सबै प्रतिनिधिसभा सदस्य उम्मेदवारहरुलाई पत्राचार गरेको हो ।
निर्वाचन कार्यालयले खाता खोलिसकेका उम्मेदवारहरुलाई पनि सिफारिस लिएर नयाँ खातामा रुपान्तरण गर्न आग्रह गरिएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । निर्वाचन आयोगका कार्यालयहरुसँग सिफारिस लिएर मात्र खोल्न पाउने कार्यविधि बनेपछि सोही अनुसार निर्देशन आएको उनले बताए ।
निर्वाचन आचारसंहिता अनुरुप मकवानपुरका उम्मेदवारले ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएकोले योभन्दा बढी खर्च भए नभएको अनुगमन गर्न कोष तथा लेखा नियन्त्रण कार्यालय हेटौंडालाई तोकिएको छ ।
प्रमुख कोष नियन्त्रक दिनेश रेग्मीले उम्मेदवारहरुले सिफारिस लिएर खाता खोले/नखोलेको, एक भन्दा बढी प्रतिनिधिले खर्च गरे/नगरेको अनुगमन भइरहेको बताए । उनले प्रचारमा सार्वजनिक सम्पति प्रयोग गर्न नपाइने, निर्वाचनका लागि गैरसरकारी संस्था तथा सार्वजनिक संस्थाबाट आर्थिक सहयोग लिए/नलिएको हेर्ने, कोणसभा वा आमसभा गर्दा हुने खर्च अनुगमन गर्ने तथा आयोगले तोकेको सीमाभित्रको खर्चबारे अनुगमन गरेर निर्वाचन कार्यालयलाई विवरण पेश गरिने बताए ।
यसअघि नै केही उम्मेदवारले निर्वाचन लक्षित खाता खोल्न निर्वाचन कार्यालयमा सोधपुछ गरे पनि कार्यविधि अभावले सिफारिस दिन नसकिएको उनले बताए। मंगलबार कार्यविधि प्राप्त भएपछि निर्वाचनको खर्च प्रक्रिया कोष तथा लेखा नियन्त्रक कार्यालयले अनुगमन गर्ने जनाएको छ ।
यस्तै निर्वाचन आचारसंहिता उल्लंघन सम्बन्धी गुनासो तथा उजुरी सहायक प्रमुख जिल्ला अधिकारीमार्फत कारबाहीका लागि सिफारिस गरी जिल्ला अनुगमन समितिलाई पठाउने प्रक्रिया रहेको छ । मकवानपुरमा हालसम्म कसैको पनि निर्वाचन आचारसंहिता उल्लंघन भएको उजुरी नपरेको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
