पालिकाले किरिया खर्च दिन थालेपछि राहत

आर्थिक समस्या झेल्दै आएका विपन्न परिवारलाई गत आर्थिक वर्षबाट पालिकाले प्रतिपरिवार २० हजार रुपैयाँका दरले सहयोग प्रदान गर्न थालेको हो ।

माघ २१, २०८२

प्रताप विष्ट

Relief as municipality starts paying utility bills

हेटौंडा — मकवानपुरको मनहरी गाउँपालिकाले मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराउन थालेपछि सर्वसाधारणले राहत महसुस गरेका छन् । परिवारका सदस्यको मृत्युपछि काज किरिया उम्काउन समस्या हुने परिवारलाई खर्चले राहत मिलेको हो ।

आर्थिक समस्या झेल्दै आएका विपन्न परिवारलाई गत आर्थिक वर्षबाट पालिकाले प्रतिपरिवार २० हजार रुपैयाँका दरले सहयोग प्रदान गर्न थालेको हो । 

जनप्रतिनिधिले घरमै पुगेर आर्थिक सहयोगसँगै मृत्यु दर्ताको कागजसमेत हस्तान्तरण गर्ने गरेका छन् । गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरी मृतकको घरमै पुगेर काजकिरिया गर्नका लागि पालिकाले रकम उपलब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताए । गत वर्ष १ सय ९५ परिवारलाई किरिया खर्चबापत रकम उपलब्ध गराइएको उनले बताए । चालु आर्थिक वर्षमा १ सय ८० परिवारलाई काजकिरिया खर्चबापत ३६ लाख रुपैयाँ उपलब्ध गराइसकिएको उनले बताए । 

वडा कार्यालयबाट मृत्युदर्तासहित विपन्नको सिफारिस गरेपछि गाउँपालिका कार्यालयले काजकिरिया गर्न प्रतिपरिवार २० हजार रुपैयाँ नगद उपलब्ध गराउने वडाध्यक्ष राजकुमार पाख्रिनले बताए । ‘आर्थिक अभावले किरिया रोकिने अवस्था नआओस् भनेर खर्च दिने गरेका हौं,’ उनले भने, ‘गाउँपालिकाको यो पारित नीति हो ।’ उक्त रकम उपलब्ध गराउन जाँदा समवेदना/श्रद्धान्जली लेखिएको र फलफूलसमेत लिएर जाने गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए ।

चालु आवमा किरिया खर्चबापत ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त रकम अपुग भए बजेट थप गर्न सकिने व्यवस्था रहेको गाउँपालिकाले जनाएको छ ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully