उम्मेदवारलाई आर्थिक पारदर्शिता अपनाउन आग्रह

छलफलमा सहभागी स्वतन्त्र उम्मेदवारहरूले आचारसंहिता उल्लंघन गर्नेलाई तत्कालै कारबाही गर्न र निर्वाचनको मौन अवधिमा मतदाता खरिद गर्ने विकृति यसपटक दोहोरिन नदिन आग्रह गरेका थिए ।

माघ २१, २०८२

ज्योती श्रेष्ठ

Candidates urged to adopt financial transparency

What you should know

काभ्रे — निर्वाचन आयोगले उम्मेदवारहरूलाई आर्थिक पारदर्शिता अपनाउन आग्रह गरेको छ ।निर्वाचन आचारसंहिताविपरीत अनावश्यक खर्च नगर्न तथा पारदर्शी स्रोतबाट मात्रै आर्थिक कारोबार गर्न आयोगले आग्रह गरेको हो ।

आयोगले आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने चेतावनी पनि दिएको छ । बुधबार काभ्रे क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयमा आयोजित सर्वपक्षीय छलफलमा काभ्रेका मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले आर्थिक कारोबार गर्दा सचेतना अपनाउन आग्रह गरेका हुन् ।

डिजिटल माध्यमबाट उम्मेदवार, राजनीतिक दलहरूले गरिरहेको आर्थिक कारोबारको साइबर ब्युरो र नेपाली सेनाले समेत सूक्ष्म रूपमा अध्ययन गरिरहेको उनले बताए । 'निर्वाचनमा उम्मेदवारले आर्थिक कारोबार गर्दा पारदर्शी र अनुशासनमा रहेर गर्नुपर्दछ,' न्यौपानेले भने । पहिला आचारसंहिता सचेतना दिनेमा केन्द्रित हुने गरे पनि अहिले आचारसंहिता उल्लंघन कसुर ठहर्नेसम्मको अवस्था रहेकामा उनले सचेत गराए ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले काभ्रेमा सरकारी कर्मचारीले आचारसंहिता उल्लंघन गरेको कुरा आइरहेकाले कर्मचारीलाई आचारसंहिता पालना गर्न सचेत गराइएको जानकारी दिए । आचारसंहिता निर्वाचनको मेरुदण्ड भएको बताउँदै यसको पूर्ण पालना गर्न उनले उम्मेदवारहरूलाई आग्रह गरे । कार्यक्रममा आचारसंहिता अनुगमन अधिकृत रुद्र कोइरालाले बैंक खाता खोलेर मात्रै निर्वाचनमा खर्च गर्न आग्रह गरे । आचारसंहिताको आर्थिक पाटोबारे प्रस्तुतीकरण दिएका कोइरालाले काभ्रे जिल्लामा उम्मेदवारले अधिकतम् ३३ लाख रुपैयाँ खर्च गर्न पाउने प्रावधान भएको भन्दै त्यसभन्दा बढी खर्च नगर्न, अवैधानिक स्रोतबाट आर्थिक संकलन नगर्न समेत सचेत गराए ।

छलफलमा सहभागी स्वतन्त्र उम्मेदवारहरूले विशेष गरी ठूला दलका उम्मेदवारले अहिलेदेखि नै घरदैलो कार्यक्रम गर्दै आचारसंहिताविपरीत काम गरिरहेको गुनासो गरे । निर्वाचन कार्यक्रमअन्तर्गत फागुन ४ देखिमात्रै घरदैलो, कोणसभा, आमसभाजस्ता कार्यक्रम गर्न पाइने व्यवस्था छ । तर त्यसको पालना हुन नसकेको उनीहरूको भनाइ थियो । उनीहरूले आचारसंहिता उल्लंघन गर्नेलाई तत्कालै कारबाही गर्न, निर्वाचनको मौन अवधिमा मतदाता खरिद गर्ने विकृति यसपटक दोहोरिन नदिन पनि आग्रह गरे ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेको क्षेत्र नं १ मा १८ र क्षेत्र नं २ मा २४ जना गरी ४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा मैदानमा छन् ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully