चित्लाङमा मृत भेटियो चितुवा

थाहा नगरपालिका–९ चित्लाङको महालक्ष्मी खोलाको किनारमा वयस्क पोथी चितुवा मृत अवस्थामा फेला परेको हो ।

माघ २०, २०८२

प्रताप विष्ट

Leopard found dead in Chitlang

हेटौंडा — मकवानपुरको थाहा नगरपालिकामा सोमबार राति पोथी चितुवा मृत फेला परेको छ । 

थाहा नगरपालिका–९ चित्लाङको महालक्ष्मी खोलाको किनारमा वयस्क पोथी चितुवा मृत अवस्थामा फेला परेको हो ।

‘३९ केजी तौलको चितुवाको मुखबाट रगत बगिरहेको थियो,’ ईलाका प्रहरी कार्यालय चित्लाङका प्रहरी सहायक निरिक्षक दिननाथप्रसाद यादवले भने, ‘चितुवाहरु एक आपसमा जुधेर मरेको जस्तो लाग्छ ।’ 

एक सय ७० सेन्टिमिटर लम्बाई भएको चितुवा करिब ४ वर्षको जतिको अनुमान गरिएको छ । मार्गिन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सानुकाजी श्रेष्ठ, स्थानीय जनप्रतिनिधि र स्थानीयहरुको रोहवरमा चितुवालाई चित्लाङस्थित गोदाम चौरमा लगेर व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुस्कर बोगटीले बताए ।

उक्त स्थान ईप्रका चित्लाङबाट १ किलोमिटर दक्षिणमा पर्छ । चित्लाङस्थित सामुदायिक वनमा अन्य वन्यजन्तुलगायत चितुवाहरुको वासस्थान रहेको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully