चितवनको माडीमा सालक सम्मेलन हुँदै 

संरक्षित वन्यजन्तु सालकको अहिलेको अवस्था, संरक्षण गर्नुपर्ने कारण, चुनौतीलगायतका विषयमा सम्मेलनमा छलफल हुनेछ ।

माघ १९, २०८२

रासस

Salak conference underway in Madi, Chitwan

What you should know

चितवन — माघ अन्तिम साता चितवनको माडीमा सालक सम्मेलन हुन लागेको छ । बाग्मती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा २६ माघमा सालक सम्मेलन हुन लागेकाे हो । 

डिभिजन वन कार्यालयको संयोजनमा माडीमा सालक सम्मेलन हुन लागेकाे हाे । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार बागमती प्रदेशभित्रका डिभिजन वन कार्यालयका प्रमुख, राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्टिय निकुञ्ज, सामुदायिक वनका प्रतिनिधि र संरक्षणकर्मीहरूको सक्रियतामा सम्मेलन गर्न लागिएको हो ।  

संरक्षित वन्यजन्तु सालकको अहिलेको अवस्था, संरक्षण गर्नुपर्ने कारण, चुनौतीलगायतका विषयमा सम्मेलनमा छलफल हुनेछ । आचार्यका अनुसार सम्मेलनमा संरक्षणमा हातेमालो गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु, विज्ञसहित दुई सयभन्दा बढीको सहभागिता रहने छ ।

सम्मेलनमा सालकको अहिलेकाे अवस्था, संरक्षणमा देखिएका चुनौती र भावी कार्यदिशाका विषयमा छलफल गरिने छ । छलफलसँगै सालक संरक्षणका लागि माडी घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न हुने उनले बताए । सालक किसानको साथी भएकाले पनि यसको संरक्षण अपरिहार्य रहेको उनको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज ऐन २०२९ ले संरक्षित वन्यजन्तुका रूपमा सालकलाई राखेको र सालक अहिले लोपोन्मुख अवस्थामा पुगेको छ। यसको संरक्षणका लागि सबैको हातेमालो आवश्यक रहेको उनले बताए ।

बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले नेपालमा पहिलाेपटक सालक सम्मेलन गर्न लागेकाे जानकारी दिए। उनका अनुसार वन्यजन्तु संरक्षण भन्ने बित्तिकै ठूला वन्यजन्तुहरूलाई प्राथमकिता दिइने गरिए पनि साना वन्यजन्तु पनि उत्तिकै महत्वपूर्ण रहेको छ । प्रदेशका सबै डिभिजन वनहरूमा सालक पाइने र यसको संरक्षणले प्रकृतिलाई फाइदा पुग्ने उनको भनाइ छ। 

रासस

Link copied successfully