मकवानपुरमा नेपाल प्रहरीतर्फ १ हजार ९ सय २३ जना र सशस्त्र प्रहरीतर्फ १ सय ७९ गरी २ हजार १ जना २ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ।
What you should know
हेटौंडा — दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा जिल्ला र ईलाका प्रहरी कार्यालय गरी ९ ठाउँमा निर्वाचन प्रहरीलाई आइतबारदेखि तालिम सुरु गरिएको छ ।
आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थाका लागि आवश्यक निर्वाचन प्रहरीको हेटौंडा-४ हुप्राको चौर र भुटनदेवी मावि चौर, इलाका प्रहरी कार्यालय पालुङ, फापरबारी, मनहरी, ठिगन, मकवानपुरगढी, हेटौंडा सानोपोखरा र पशुपतिनगरमा निर्वाचन प्रहरीलाई तालिम दिन सुरु गरिएको हो ।
तालिम लिएकै क्षेत्रमा परिचालन गर्ने उद्देश्यले विभिन्न क्षेत्रमा तालिम लिन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी सशस्त्र प्रहरी बल १४ नम्बर गण हेटौंडाले १७९ जना निर्वाचन प्रहरीलाई हेटौंडा औद्योगिक क्षेत्रभित्रै तालिम दिन सुरु गरेको छ ।
जिल्लाभर २ हजार १०२ जना निर्वाचन प्रहरीको लागि १० दिने तालिम दिन सुरु गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी पुस्कर बोगटीले वताए । तालिममा निर्वाचन प्रहरीले सुरक्षाकर्मीसँगै मिलेर गर्नुपर्ने कामको प्रकृति, आचारसंहिता, अनुशासन सम्बन्धी प्रशिक्षण दिइनेछ । हरेक १ सय जनालाई दुई जना प्रहरीले तालिम प्रदान गरिरहेका छन् ।
मकवानपुरका लागि तोकिएको निर्वाचन प्रहरीको संख्या अपुग भएपछि दोस्रो पटक आवेदनका लागि म्याद थपिएको थियो। मकवानपुरमा नेपाल प्रहरीतर्फ १ हजार ९ सय २३ जना र सशस्त्र प्रहरीतर्फ १ सय ७९ गरी २ हजार १ जना २ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ। तीमध्ये ६५३ महिला रहेका छन् । ११२ महिलासहित ४ सय ३१ जना वैकल्पिक सूचीमा छन् ।
छनौट भएका निर्वाचन प्रहरीलाई माघ १८ गतेदेखि माघ २७ गतेसम्म आधारभूत तालिम दिएर कार्यक्षेत्रमा परिचालन गरिने डीएसपी बोगटीले बताए । उनीहरुलाई माघको अन्तिममा कार्यक्षेत्रमा परिचालन गरिनेछ । निर्वाचन प्रहरीमा १८ देखि ५४ वर्ष उमेरसम्मका भर्ना भएका छन् । ४० दिनका लागि भर्ना हुन लागेका उनीहरूले प्रहरी जवानको बराबर तलब र रासन सुविधा पाउनेछन् ।
मकवानपुरका २ वटा निर्वाचन क्षेत्रमा १६७ वटा मतदानस्थल र ३७४ वटा मतदान केन्द्र रहेका छन् । सुरक्षाको दृष्टिकोणले १९ वटा मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ। जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा रहेका मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ । मकवानपुरमा मतदाता संख्या ३ लाख १५ हजार ३३४ रहेको छ ।
