जिल्ला प्रहरी मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६३ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाइसकेको छ ।
What you should know
हेटौंडा — हातहतियार, लागुऔषध, चोरी र चेकअनादर मुद्दामा अदालतद्वारा दोषी ठहर भएर फरार रहेका ७ जना प्रतिवादीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।
हातहतियार तथा लागुऔषध मुद्दाका फरार अभियुक्त मकवानपुर कैलाश गाउँपालिका-६ का २७ वर्षीय विजय मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । हातहतियार र लागुऔषध मुद्दामा जिल्ला अदालत मकवानपुरले मोक्तानलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो ।
लागुऔषध मुद्दामा जिल्ला अदालत मकवानपुरले १ महिना १७ दिन कैद तोकेका हेटौंडा उपमहानगरपालिका-१७ का ३८ वर्षीय अर्जिनकुमार राउतलाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषध मुद्दामै फरार अभियुक्त हेटौंडा उपमहानगरपालिका-१४ का ३१ वर्षीय चन्द्रबहादुर गोलेलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको छ ।
गोलेलाई अदालतले १ वर्ष कैद र ५ हजार ४ सय रुपैयाँ जरिवाना फैसला गरेको थियो । जिल्ला अदालतले चोरी मुद्दामा चार महिना कैद तोकिएर फरार रहेका हेटौंडा-१६ का २८ वर्षीय विनय विकलाई पनि प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ ।
चोरी मुद्दाका फरार प्रतिवादीद्वय हेटौंडा-१९ का मनोज लामा र आकाश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्दामा प्रतिवादीद्वयलाई अदालतले तीन/तीन महिना कैद गर्ने फैसला गरेको थियो ।
यसैगरी चेकअनादर मुद्दाका फरार अभियुक्त हेटौंडा उपमहानगरपालिका-१३ का ३८ वर्षीय बुद्ध गोलेलाई पनि प्रहरीले पक्राउ गरेको छ । अदालतले गोलेलाई ३ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो । ७ जना फरार प्रतिवादीहरुलाई गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी मकवानपुरका प्रवक्ता डीएसपी पुस्कर बोगटीले बताए ।
प्रतिवादीहरु अदालतको फैसलापश्चात फरार भएका थिए । मकवानपुर प्रहरीले अदालतको फैसलालाई कार्यान्वयन गर्ने उद्देश्यका साथ दोषी ठहर भएर कैद र जरिवाना तोकिएका फरार प्रतिवादीहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला प्रहरी मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६३ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाइसकेको छ ।
