दोलखामा ५२ मतदानस्थल ‘अति संवेदनशील’

विगतका निर्वाचनमा भएका हिंसात्मक घटना, बुथ कब्जा र भौगोलिक विकटताका कारण हुनसक्ने सुरक्षा संवेदशीलतालाई अध्ययन गरेर ५२ मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।

माघ १९, २०८२

केदार शिवाकोटी

52 polling stations in Dolakha 'highly sensitive'

What you should know

दोलखा — दोलखाका ९५ मध्ये ५२ वटा मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ ।

विगतका निर्वाचनमा भएका हिंसात्मक घटना, बुथ कब्जा र भौगोलिक विकटताका कारण हुनसक्ने सुरक्षा संवेदशीलतालाई अध्ययन गरेर ५२ मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । 

उनका अनुसार २८ मतदानस्थललाई संवेदनशील र १५ मतदानस्थललाई सामान्य सूचीमा वर्गाीकरण गरिएको छ । ‘विगतका हिंसात्मक घटना, बुथ कब्जा र सुरक्षा संवेदनशीलता हेरेर मतदानस्थलाई वर्गाीकरण गरेका छौं,’ उनले भने, ‘अझै थप अध्ययनसमेत भइरहेको छ, केही मतदानस्थल भौगोलिक विकटता भएका क्षेत्रमा छन् । तीसमेत हामीले निगरानीमा राखेर निर्वाचन तयारी थालेका छौं ।’ 

विगतमा निर्वाचनमा भएका घटना यो पटक हुन नदिने गरी तयारी गरिएको उनले बताए । जिल्लामा कुल १ लाख ७० हजार ३० मतदाता रहेका छन् । ‘कतिपय मतदानस्थलमा मतदाताले मत वर्षौदेखि मत खसाल्न नपाएको गुनासो गरेका छन्,’ उनले भने,  विगत के भयो त्यो, घटना यो निर्वाचनमा दोहारिन दिँदैनौं, मतदाताले ढुक्क भएर मतदान गर्ने वातावरण तयार गछौं, त्यहीँ अनुसार सुरक्षाकर्मी परिचालन तयारी गरेका छौं ।’ 

हाल निर्वाचन प्रहरी भर्नामा दोलखामा संख्या अपुग भएपछि छिमेकी जिल्ला सिन्धुपाल्चोक र काभ्रेबाट ल्याइएको उनले बताए । जिल्लामा १ हजार ३ सय ५० निर्वाचन प्रहरी माग भए पनि छिमेकी जिल्लाबाट माग गर्दासमेत अझै एक सयको संख्यामा अपुग भएको उनले बताए । यस्तै नेपाली सेना १ हजार भन्दा बढी परिचालन हुनसक्ने र सशस्त्र र नेपाल प्रहरी पनि त्यहीँ अनुसार परिचालन गर्ने तयारी भइरहेको उनले बताए।

निर्वाचन आयोगले निर्वाचनका समयमा भएका विगतका हिंसात्मक घटना, बुथ कब्जाका कारण ‘रेड जोन’मा राखेको छ । जिल्लामा २०७९ को निर्वाचनमा ९४ मतदानस्थल थिए । 

केदार

Link copied successfully