मकवानपुर प्रहरीले एक बालिकासहित ७ जनालाई पक्राउ गरेको हो ।
मकवानपुर — मकवानपुर प्रहरीले खैरो हेरोइन जस्तो देखिने लागूपदार्थ र ट्रामाडोलसँग एक बालिकासहित ७ जनालाई पक्राउ गरेको छ ।
माघ १६ र १७ गते जिल्लाका विभिन्न स्थानमा खानतलासी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुको साथबाट १ ग्राम ७८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र ट्रामाडोल २०० क्यापसुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मनहरी गाउँपालिका–३ का २३ वर्षीय जनक घलान र २२ वर्षीय सुदीप शर्माको साथबाट ८५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको छ । यस्तै, हेटौंडा उपमहानगरपालिका–१२ का २४ वर्षीय सुशील गोलेको साथबाट ७६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद भएको छ । हेटौंडा उपमहानगरपालिका–११ का २४ वर्षीय श्रीकृष्ण विकेको साथबाट ट्रामाडोल २०० क्यापसुल फेला परेको छ ।
त्यस्तै, हेटौंडा उपमहानगरपालिका–१ का १८ वर्षीय एनोस मगरको साथबाट ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद भएको छ । त्यसैगरी, हेटौंडा उपमहानगरपालिका–३ की २१ वर्षीया परिना मगर र एक जना बालिकाको साथबाट १२० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको छ । पक्राउ परेकाहरूलाई मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
