पक्राउ परेका दुई जनालाई भिमफेदी कारागार र बालकलाई बाल सुधार गृह हेटौंडामा बुझाइएको छ ।
मकवानपुर — गत भदौ २४ गतेको प्रदर्शनका क्रममा भिमफेदी कारागार र बाल सुधार गृह हेटौंडाबाट फरार भएका ३ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनका क्रममा भिमफेदी कारागारबाट फरार रहेका जबर्जस्ती करणी मुद्दाका प्रतिवादी जिल्ला मकवानपुर बागमती गाउँपालिका–६ कैलेडाँडाका अन्दाजी ३० वर्षीय मुन्ना स्याङ्तान र लागूऔषध मुद्दाका मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ हरियालीका अन्दाजी २२ वर्षीय विशाल गोले पक्राउ परेका हुन् ।
त्यसैगरी, बालसुधार गृह हेटौंडाबाट लागूऔषध ब्राउन सुगर मुद्दामा फरार भएका एक जना बालकलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा माघ १७ र १८ गते उनीहरूलाई फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालाई भिमफेदी कारागार र बालकलाई बालसुधार गृह हेटौंडामा बुझाइएको छ ।
प्रहरीका अनुसार फरार अन्य कैदीबन्दीको खोजी कार्यसमेत निरन्तर जारी रहेको छ ।
