बस्तीमा देखिएको गैंडालाई निकुञ्ज फर्काउन हात्तीसहित टोली परिचालन

गैंडा मनहरी–६ स्थित प्रतापपुरको जंगलबाट समूहबाट छुट्टिएर बस्तीमा पसेको हुन सक्ने अनुमान गरिएको छ ।

माघ १७, २०८२

प्रताप विष्ट

A team including elephants has been mobilized to return a rhinoceros seen in a settlement to the park.

What you should know

हेटौंडा — मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका तथा हेटौंडाको सान्नटार क्षेत्रमा गैंडा देखिन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । 

स्थानीयको आग्रहमा पर्सा राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई वटा हात्ती प्रयोग गरी गैंडालाई सुरक्षित रुपमा निकुन्जतर्फ फर्काउने प्रयास भइरहेको छ । मनहरी–३ लामिटारको भोटेखोल्सी क्षेत्रमा देखिएको गैंडालाई दुई वटा हात्ती र तीन वटा ट्याक्टरको सहायतामा प्रतापपुरको जंगलतर्फ लैजाने प्रयास गरिए पनि सफल हुन सकेन ।

सेना,  प्रहरी तथा स्थानीयको सहयोगमा पर्सा राष्ट्रिय निकुञ्जको टोलीले गैंडालाई ‘कोर एरिया’तर्फ लैजान दिनभर प्रयास गरेको थियो। गैंडा मनहरी–९ जैसिङ खरंगाको जंगलभित्र पसेपछि हात्तीसहितको टोली त्यही निगरानीमा बसेको छ।

पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत लामिटार पोस्टका रेन्जर प्रणय झाले दिनभर प्रयास गरे पनि गैंडालाई सुरक्षित रुपमा कोर एरियामा पुर्‍याउन नसकिएको जानकारी दिए । 'गैंडा डिल्लीपुर माथिको भाइरल पुल नजिकको जंगलमा गएको छ, हात्तीको टोली पनि त्यही छ,' उनले भने ।

गैंडा मनहरी–६ स्थित प्रतापपुरको जंगलबाट समूहबाट छुट्टिएर बस्तीमा पसेको हुनसक्ने अनुमान गरिएको छ। 

निकुञ्ज अन्तर्गत उज्वल भविष्य मध्यवर्ती उपभोक्ता समितिका सचिव जयराम रिजालले गैंडालाई बस्ती क्षेत्रबाट जंगलतर्फ लैजान निकुञ्जसँग आवश्यक समन्वय र सहकार्य भइरहेको बताए । दुई वटा हात्तीसहितको टोलीलाई स्थानीय तीन वटा ट्याक्टरको सहयोगमा मनहरी–३ लामिटारबाट मनहरी–९ जैसिङसम्म पुर्‍याइएको छ ।

स्थानीय बासिन्दालाई साँझ र बिहान अनावश्यक रुपमा बाहिर ननिस्कन तथा गैंडा वा अन्य जंगली जनावर देखिएमा तुरुन्त समिति वा निकुञ्जलाई जानकारी गराउन अनुरोध गरिएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully