राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने प्रतियोगिताको सहआयोजकको रुपमा काठमाडौं विश्वविद्यालय र नेपाल इन्टरनेशनल इभेन्ट मेनेजमेन्ट प्रालि रहेका छन् ।
What you should know
काभ्रे — तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ गतेदेखि काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयमा हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने प्रतियोगिताको सहआयोजकको रुपमा काठमाडौं विश्वविद्यालय र नेपाल इन्टरनेशनल इभेन्ट मेनेजमेन्ट प्रालि रहेका छन् ।
प्रतियोगिता माघ २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं विश्वविद्यालय विद्यार्थी कल्याण निर्देशनालयका कायममुकायम निर्देशक गोकुल केसीले प्रतियोगितामा देशभरका ८ वटा विश्वविद्यालयले सहभागिता जनाउने बताए । उनका अनुसार काठमाडौं विश्वविद्यालयसहित त्रिभुवन, सुदूरपश्चिम, मध्यपश्चिम , पूर्वाञ्चल, गण्डकी, पोखरा र कृषि तथा वन विज्ञान विश्वविद्यालयले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, बास्केटबल र एथलेटिक्सका खेल हुनेछन् । भलिबलमा पुरुष टीम मात्रै सहभागी हुनेछन् भने अन्य खेलमा महिला र पुरुष सहभागी हुनेछन् । प्रतियोगितामा आठ विश्वविद्यालयका २ सय ७९ वना खेलाडीले सहभागिता जनाउनेछन् । विश्वविद्यालय खेलकुदमा यसपटकदेखि बास्केटबल समावेश गरिएको हो। यसअघिका दुई संस्करणमा चार वटा खेलमात्रै सहभागी गराइएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य कमल भट्टराईले काठमाडौं विश्वविद्यालयको अग्रसरताकै कारण तेस्रो संस्करण तोकिएकै मितिमा हुन लागेको बताए । आलोपालो प्रणाली अनुसार यसपटकको प्रतियोगिता कृषि तथा वन विज्ञान विश्वविद्यालयले आयोजना गर्नुपर्ने थियो ।
तर, पर्याप्त बजेट नभएका कारण प्रतियोगिता आयोजना गर्न उक्त विश्वविद्यालयले असमर्थता जनाएपछि काठमाडौं विश्वविद्यालयको आयोजनामा प्रतियोगिता हुन लागेको उनले बताए । परिषद्का प्रतियोगिता विभाग प्रमुख मिनकुमार शर्माले प्रतियोगिताका लागि १८ लाख रुपैयाँ विनियोजन गरिएको बताए । प्रतियोगितामा नौ वटा विश्वविद्यालय सहभागी हुने तयारी भए पनि अन्तिम समयमा लुम्बिनी बौद्ध विश्वविद्यालयले सहभागिता जनाउन असमर्थता जनाएको उनले बताए ।
विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो संस्करण काठमाडौंस्थित दशरथ रंगशालामा र दोस्रो संस्करण पोखरामा भएको थियो । विगतका संस्करण भन्दा यसपटक अझै भव्य बनाइने काठमाडौं विश्वविद्यालय विद्यार्थी कल्याण निर्देशनालयका कायममुकायम निर्देशक गोकुल केसीले बताए ।
देशभरका विश्वविद्यालयका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ३ सय भन्दा बढीको उपस्थिति रहने प्रतियोगिताले काभ्रेको पर्यटकीय नगरी धुलिखेलको पर्यटन प्रवर्द्धनमा समेत मद्दत पुग्ने विश्वास लिइएको केसीको भनाई थियो । प्रतियोगिता सञ्चालनका लागि आजै परिषद् र काठमाडौं विश्वविद्यालयबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ ।
