चितवनमा ‍दलका प्रतिनिधिहरु भन्छन्–‘आचारसंहिता कागजमा सीमित नहोस्’

चितवन–२ का मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश केदारनाथ पौडेलले निर्वाचन आचारसंहिता उल्लंघनका घटना देखिए अनुगमन समितिमा उजुरी गर्न अपिल गरे।

माघ १५, २०८२

रमेशकुमार पौडेल

Party representatives in Chitwan say – ‘Code of conduct should not be limited to paper’

What you should know

चितवन — भरतपुरमा सम्पन्न एक कार्यक्रममा उम्मेदवार र दलका प्रतिनिधिहरुले निर्वाचनका लागि तय भएको आचारसंहिता कार्यन्वयनमा आउनुपर्नेमा जोड दिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले चितवनका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार र उम्मेदवारका प्रतिनिधिहरुसहित अन्य सरोकारवालाका लागि आयोजना गरेको छलफलमा ठूला भनिने दल र साना भनिएका दललाई फरक व्यवहार अपनाउने गरेको गुनासो गरिएको थियो।

विगतमा उजुरी परे पनि कारवाही नभएको दलका प्रतिनिधिहरुले गुनासो गरेका थिए । माघ ६ गते मनोनयन दर्तापछि उम्मेदवारहरु चुनाव चिन्ह पाएर मत माग्न घरआँगनमा पुगिरहेका छन्। ‘आचारसंहिता पालनमा साना भनिने दलहरु इमान्दार छन् । ठूला भनिने दलहरुले यसलाई पालना गरेको देखिँदैन । विगतमा हामीले कार्यक्रम गरेको ठाउँमा नै आएर ठूलो आवाजमा माइक बजाउने, होहल्ला गर्ने जस्ता गतिविधि भए,’ राष्ट्रिय जनमोर्चाबाट चितवन–२ कप् उम्मेदवार देवी शर्माले भनिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला सभापति कृष्णप्रसाद भुसालले पनि यस्तै गुनासो गरे । ‘विगतको निर्वाचनमा चितवन–२ मा हाम्रा उम्मेदवार चढेको गाडी तोडफोड भयो । जिन्सी सामग्री भनेर गाडीमा पैसा राखेको कुरा आयो । अनि यी घटनामा कारवाही भएको सुन्न पाइएन,’ रास्वपा सभापति भुसालले भने । 

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का प्रतिनिधि झनक पौडेलले आचारसंहिता उल्लंघनमा कारवाही नगर्ने कर्मचारीलाई पनि कारवाही हुनुपर्ने नीति बन्नुपर्ने बताए । ‘उल्लंघन नरोक्ने, उजुरी दिँदा पनि कारवाही नगर्ने कर्मचारीलाई पनि कारवाही हुनुपर्ने हुन्छ । त्यसको पनि व्यवस्था होस् । कागजमा मात्रै लेखेर हुँदैन । कार्यान्वनमा ल्याउन सबै लाग्नु पर्छ,’ पौडेलले भने । 

कांग्रेसका प्रतिनिधि विष्णुप्रसाद अर्यालले सूचना दिँदा पनि कारवाही नभएको विगतको उदाहरणले आचारसंहित कार्यान्वयन कसरी हुन्छ भन्ने प्रश्न उठेको बताए ।

चितवन–२ का मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश केदारनाथ पौडेलले निर्वाचन आचारसंहिता अनुगमनका लागि बनेको समितिमा उजुरी गर्न अपिल गरे। मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा बनेको समितिमा सह–संयोजक प्रमुख जिल्ला अधिकारी रहने छन्। त्यसैगरी सात सदस्यीय समितिको सदस्य सचिवमा जिल्ला निर्वाचन कार्यालयका प्रमुख रहने व्यवस्था छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचन सुरक्षाका लागि जिल्लामा ३५ सय कर्मचारी व्यवस्थापन भएको जानकारी दिए । उनले आचारसंहित सबैले मनन गरे निर्वाचन शान्तिपूर्ण र स्वच्छरुपमा सम्पनन हुने बताए । ‘अचारसंहितामा गर्न नहुने र गर्नु पर्ने कुरा छन् । त्यसलाई सवैले मनन गर्नुपर्ने हुन्छ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने । उनले उल्लंघनको सूचना तत्काल दिन अपिल गरे । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully