बालिकामाथि यौन दुर्व्यवहार आरोपमा प्रधानाध्यापक र शिक्षक पक्राउ

पीडित पक्षले प्रधानाध्यापक ध्रुवराज गिरीले घटना कानुनी प्रक्रियामा लैजानुको साटो मिलापत्र गराउने प्रयास गरेको आरोप लगाएका छन् ।

माघ १४, २०८२

अनिश तिवारी

Principal and teacher arrested on charges of sexually abusing a girl

सिन्धुपाल्चोक — जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित जनजागृती माध्यमिक विद्यालयकी कक्षा ७ मा अध्ययनरत करिब १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार प्रयास भएको आरोपमा विद्यालयका प्रधानाध्यापक र एक शिक्षक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक काजीकुमार आचार्यकाअनुसार दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । पीडित पक्षकाअनुसार माघ १२ गते साँझ विद्यालय नजिकै रहेको स्टेसनरी पसलमा पेन्सिल किन्न गएकी बालिकामाथि शिक्षक जितराज गिरीले दुर्व्यवहार प्रयास गरेको आरोप छ । घटनापछि बालिकाले साथीसँग कुरा खोलेपछि माघ १३ गते विद्यालयमा घटना सार्वजनिक भएको थियो । 

पीडित पक्षले प्रधानाध्यापक ध्रुवराज गिरीले घटना कानुनी प्रक्रियामा लैजानुको साटो मिलापत्र गराउने प्रयास गरेको आरोप लगाएका छन् । यसबारे थाहा पाएपछि बुधबार स्थानीय अभिभावकहरू आक्रोशित भई विद्यालय परिसरमा भेला भएका थिए । यहाँ स्थिति तनावग्रस्त बन्दै गएपछि प्रहरीले भिड नियन्त्रण गरेको थियो । 'आवश्यक सोधपुछ र कानुनी प्रक्रियाअनुसार घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ, घटनास्थलमा प्रहरी खटिरहेको छ, थप कुरा अनुसन्धानपछि खुल्नेछ,' प्रहरी उपरीक्षक आचार्यले भने ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully