मकवानपुरमा ६ सय ५३ महिला निर्वाचन प्रहरी छनोट

माघ १८ देखि २७ गतेसम्म आधारभूत तालिम हुने ।

माघ १४, २०८२

प्रताप विष्ट

653 female election police officers selected in Makawanpur

हेटौंडा — मकवानपुरमा दोस्रो पटक म्याद थप गरेपछि मात्रै निर्वाचन प्रहरीका लागि आवश्यक संख्या पुगेको छ । मकवानपुरका लागि तोकिएको निर्वाचन प्रहरीको संख्या अपुग भएपछि दोस्रो पटक आवेदनका लागि म्याद थपिएको हो ।

मकवानपुरमा नेपाल प्रहरीतर्फ १ हजार ९ सय २३ र सशस्त्र प्रहरीतर्फ १ सय ७९ जना गरी २ हजार १ जना २ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ । भर्ना भएकामध्ये ६ सय ५३ जना महिला रहेका छन् ।

दोस्रो पटकमा मागभन्दा बढी आवेदन परेको र छनोटको काम सकेर नतिजा प्रकाशन गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता पुस्कर बोगटीले वताए । छनोट भएका निर्वाचन प्रहरीलाई माघ १८ देखि माघ २७ गतेसम्म आधारभूत तालिम दिएर कार्यक्षेत्रमा परिचालन गरिने उनले बताए । 

२ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा १ सय ६७ वटा मतदान स्थल र ३ सय ७४ वटा मतदान केन्द्र रहेका छन् । सुरक्षाको दृष्टिकोणले १९ वटा मतदान स्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा रहेका मतदान स्थल अति संवेदनशीलको सूचीमा राखिएको हो । मकवानपुरमा मतदाता संख्या ३ लाख १५ हजार ३ सय ३४ रहेको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully