चुरियामाई नजिक डिजेल ट्यांकरमा आगलागी

आगो डिजेल भण्डारण गरिएको भागसम्म पुग्न नपाएकाले क्षति र सम्भावित दुर्घटना भने टरेको छ।

माघ १२, २०८२

प्रताप विष्ट

Fire in diesel tanker near Churiyamai

हेटौंडा — हेटौंडाको चुरियामाई मन्दिर नजिक सोमबार साँझ डिजेल बोकेको एक ट्यांकरमा अचानक आगलागी हुँदा केही समय आसपास क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भयो। ट्यांकर गुडिरहेका बेला इन्जिनको भागबाट आगो सल्किएको हो।

 

अमलेखगन्जबाट हेटौंडातर्फ आउँदै गरेको लु १ ख ६६०९ नम्बरको डिजेल ट्यांकरमा आगलागी भएपछि ट्यांकरको अगाडिको भाग पूर्ण रूपमा जलेर नष्ट भएको छ। तर आगो डिजेल भण्डारण गरिएको भागसम्म पुग्न नपाएकाले क्षति र सम्भावित दुर्घटना भने टरेको छ।

आगलागीको खबर प्राप्त हुनासाथ हेटौंडा उपमहानगरपालिका र अमलेखगन्ज आयल निगमका दुई वटा दमकल घटनास्थलमा खटिएका थिए। साँझ करिब साढे ५ बजे दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक किशोरी आचार्यले जानकारी दिए।

'आगो इन्जिनको भागमै सीमित रहेकाले डिजेलसम्म फैलिन पाएन, त्यसैले ठूलो क्षति हुनबाट जोगियो,' उनले भने।

ट्यांकरको अगाडिको भाग सडकमै जलेर नष्ट भएकाले हाल सो सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा छ। दुवैतर्फको सवारी आवागमन सहज बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता पुष्कर बोगटीले बताए।

उक्त घटनास्थल इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट करिब ८ किलोमिटर दक्षिणमा पर्छ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully