बैठकमा आयात–निर्यातका क्रममा सीमा क्षेत्रमा अवाञ्छित तथा गैरकानुनी गतिविधि हुन नदिन संयुक्त रूपमा काम गर्ने सहमति भएको छ ।
What you should know
तातोपानी, सिन्धुपाल्चोक — नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका सहज सञ्चालन, सीमा सुरक्षा र नजिकिँदो निर्वाचनका सन्दर्भमा सहजीकरणका विषयमा आइतबार सीमा सुरक्षा बैठक सम्पन्न भएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार मितेरी पुलपारि चीनको झाङ्मुस्थित प्रशासनिक भवनमा सम्पन्न ‘क्रस बोर्डर क्राइम’ तथा सीमा सुरक्षा सम्बन्धी संयुक्त बैठकमा दुवै पक्षबीच महत्वपूर्ण विषयमा छलफल भएको छ।
बैठकमा आयात–निर्यातका क्रममा सीमा क्षेत्रमा अवाञ्छित तथा गैरकानुनी गतिविधि हुन नदिन संयुक्त रूपमा काम गर्ने सहमति भएको छ ।
छलफलमा सीमा क्षेत्रमा संयुक्त गस्ती (ज्वाइन्ट पेट्रोलिङ), सीमा स्तम्भ (पिलर) संरक्षण, तस्करी नियन्त्रण , गैरकानुनी आवागमन रोकथाम तथा सीमा सुरक्षासम्बन्धी समन्वयलाई प्राथमिकता दिइएको थियो । साथै पर्यटन र व्यापार प्रवर्द्धन, विपद् व्यवस्थापनमा सूचना आदान–प्रदान तथा पूर्वसर्तकता प्रणालीमा सहकार्य गर्ने विषय पनि उठान गरिएको छ ।
नजिकिँदो प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा आवश्यक सहजीकरण, सुरक्षा समन्वय र आपसी सूचनाको आदान–प्रदानबारे समेत छलफल भएको प्रजिअ अधिकारीले बताए । 'नेपाल–चीन जनस्तरको सम्बन्ध सुदृढ बनाउने, सीमा सुरक्षा व्यवस्थापन, व्यापार र पर्यटन वृद्धिका विषयमा सकारात्मक छलफल भयो,' उनले भने ।
बैठकमा नेपाल पक्षबाट जिल्ला प्रशासन कार्यालय, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुखलगायतका अधिकारी सहभागी थिए। नेपालतर्फ प्रजिअ अधिकारीसहित, जिल्ला प्रहरी उपरीक्षक काजी कुमार आचार्य, राष्ट्रिय अनुसन्धानका सिन्धुपाल्चोक प्रमुख सुभाष कार्की तथा सशस्त्र प्रहरीका एसपी अच्युतकुमार मजगैया, तातोपानी अध्यागमन कार्यालयका प्रतिनिधि सहभागी थिए । चीनतर्फ न्यालम काउन्टी प्रशासन, अध्यागमन तथा सुरक्षा निकायका उच्च अधिकारी एसएसपी, एसपी र डीएसपी स्तरका प्रतिनिधि सहभागी थिए ।
नेपाल पक्षले छलफलका क्रममा निर्यातलाई विशेष प्राथमिकता दिन, चाडपर्वलाई लक्षित गर्दै कन्टेनर संख्या बढाउन र विपद्का बेला छिटो सूचना आदान–प्रदान गर्ने संयन्त्र प्रभावकारी बनाउन आग्रह गरेको थियो।
बैठक आपसी सद्भाव र समन्वयको वातावरणमा सम्पन्न भएको प्रशासनले जनाएको छ । खासामा स्मार्ट सिटी हाल पुनर्निर्माणको क्रममा रहेको र यसअघि चीनको खासा र न्यालमबीच भेगको जंगलमा भीषण डढेलोले पुनर्निर्माण र नाकालाई बिथोलेको बताएका थिए ।
गत आइतबार आगलागीका कारण चीनतर्फको भन्सार प्रणाली (सिस्टम) सञ्चालनमा नआएकाले नाका खोल्न नसकिएको चिनियाँ पक्षले जानकारी दिएको छ । आगलागीपछि नाका सञ्चालन असम्भव भएको चिनियाँ प्रशासनले नेपाललाई अवगत गराउँदै आएको छ ।
खासा क्षेत्रमा विद्युत् ट्रान्समिटर पड्किएर जंगलमा आगो लागेको थियो । घना जंगलमा फैलिएको डढेलोपछि खासा र रमिते आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।
