राष्ट्रिय सभा सदस्यका लागि बागमतीबाट दुई पदका लागि ३ महिलासहित ६ जनाले उम्मेदवारी दिएका थिए
What you should know
काठमाडौँ — राष्ट्रिय सभा सदस्यमा वागमती प्रदेशबाट दुई पदका लागि भएको मतदानमा ९४ प्रतिशतभन्दा बढी मत खसेको छ ।
प्रदेशसभा सदस्य १०४ मध्ये ८९ जनाले मतदान गरेका थिए । १५ जना मतदान गर्न आएनन् । स्थानीय तहका प्रमुख/उपप्रमुख /अध्यक्ष र उपाध्यक्ष २३४ मध्ये २२९ जनाले मतदान गरेका छन् । ५ जना मतदान गर्न उपस्थित भएनन् । प्रदेशसभा सदस्य र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरेर ३३८ जनाले मतदाता रहेका थिए । तीमध्ये २० जनाले मतदान गरेनन् ।
राप्रपाका प्रदेशसभा सदस्य १२ र एक जना प्रमुख गरी १३ जनाले मतदानमा भाग लिएनन् । राप्रपाका संसदीय दलका नेता उद्धव थापाले भने, ‘हाम्रो उम्मेदवार कोही पनि थिएन र कुनै दलसँग तालमेल पनि थिएन । त्यसैले निर्वाचन सहभागी भएनौं ।’
हाम्रो नेपाल पार्टीका प्रदेशसभा सदस्य २ जनाले मतदान गरेनन् भने नेपाली कम्युनिष्ट पार्टीका एक जना पनि मतदानमा सहभागी भएनन् । पालिकाहरुका शंखरापुर नगरप्रमुख रमेश नापित, दुधौली नगरप्रमुख दिनेश अधिकारी, विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओली, गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी र हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामा मतदान गर्न आएनन् ।
राष्ट्रिय सभा सदस्यका लागि बागमतीबाट दुई पदका लागि ३ महिलासहित ६ जनाले उम्मेदवारी दिएका थिए । बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको थियो ।
'मतदानस्थलमा नै सर्वदलीय बैठक बसेपश्चात् मतगणना गर्नेछौं,' निर्वाचन अधिकृत गीता श्रेष्ठले भनिन् । बागमती प्रदेशका लागि हेटौंडा उपमहानगरपालिका-४ भुटनदेवी माविमा मतदानस्थल राखिएको थियो ।
कांग्रेसबाट महिला कोटामा गीता देवकोटा, नेकपाकी सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जन उम्मेदवार छन् । अन्य समूहबाट एमालेबाट प्रेमप्रसाद दंगाल, नेकपाबाट प्रेमप्रसाद सापकोटा र नेमकिपाबाट विक्रम डुकुछुले उम्मेदवारी दिएका छन् । यहाँ काग्रेस र एमालेले तालमेल गरेर उम्मेदवारी दिएका हुन् ।
प्रदेशसभा सदस्य एक जनाको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १९ मतभार रहनेछ । बागमती प्रदेशसभामा कांग्रेसको ३६ सिट छ भने स्थानीय तहमा प्रमुख तथा उपप्रमुख गरी १०७ सिट छ । यस्तै, एमालेको प्रदेशसभामा २५ सिट र स्थानीय तहमा ५९ सिट, तत्कालीन माओवादी केन्द्रको प्रदेशसभामा २० र स्थानीय तहमा ५६ सिट, राप्रपाको प्रदेशसभामा १२ र स्थानीय तहमा १ सिट छ । यस्तै, तत्कालीन नेकपा एकीकृत समाजवादीको प्रदेशसभामा ६ र स्थानीय तहमा ९ सिट, नेमकिपाको प्रदेशसभामा ३ र स्थानीय तहमा २ सिट तथा हाम्रो नेपाली पार्टीको प्रदेशसभामा २ सिट र स्थानीय तहमा १ सिट रहेको छ ।
