हेटौंडाका दुई दमकल, मकवानपुरको प्रहरी टोली, सशस्त्र प्रहरी १४ नं.गणका प्रहरी र स्थानीय रातभर आगो निभाउने काममा खटिएका थिए ।
हेटौंडा — हेटौंडा औद्योगिक क्षेत्रस्थित महाशक्ति सप (साबुन) कम्पनीको गोदाममा शनिबार रातिदेखि लागेको आगो आइतबार बिहान साढे ९ बजे नियन्त्रणमा लिइएको छ ।
जस्तापाताले बनाएको टहरामा राखिएका साबुन, प्लास्टिक र केमिकल जलेर नष्ट भएका छन । हेटौंडा उपमहानगरपालिका-८ औद्योगिक क्षेत्रको सबैभन्दा पुरानो उद्योग महाशक्ति सप कम्पनीको गोदाममा शनिबार राति साढे ११ बजेदेखि लागेको आगो लागेको थियो । बिजुलीको तार सर्ट भएकाले आगो लागेको अनुमान गरिएको छ ।
हेटौंडाका २ दमकल, मकवानपुरको प्रहरी टोली, सशस्त्र प्रहरी १४ नं.गणका प्रहरी र स्थानीय रातभर आगो निभाउने काममा खटिएका थिए ।
साबुन, र्यापर, कार्टुन, केमिकलसमेत भएकाले आगो नियन्त्रणमा लिन ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता पुस्कर बोगटीले बताए ।
