सरकारले सय वटा महत्त्वपूर्ण गन्तव्यमध्ये मकवानपुरगढीलाई पनि सूचीकृत गरेको छ ।
What you should know
हेटौंडा — मकवानपुरगढी गाउँपालिका–२ स्थित ऐतिहासिक मकवानपुर गढीमा शनिबार एक समारोहबीच २६३ औं विजय उत्सव मनाइएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले झण्डोत्तोलन गरेर विजय उत्सवको उद्घाटन गरेका हुन् ।
विदेशी फौजमाथि विजय प्राप्त गरेको खुसीयालीमा विजय उत्सव मनाइएको हो । हेटौंडाको बुद्धचोकबाट १६ किलोमिटर पूर्वमा पर्ने मकवानपुरगढीमा तत्कालीन सेनवंशीय दरबार रहनुका साथै पृथ्वीनारायण शाहको ससुराली पनि हो ।
मकवानपुरगढीमा राजा हेमकर्ण सेनले चढ्ने एकदन्ते सेतो हात्तीको मूर्ति निर्माण गरिएको छ भने पृथ्वीनारायण शाह र कनक सिंह बानियाको पनि सालिक रहेको छ । उक्त सेतो हात्ती हेमकर्ण सेनले ज्वाइँ पृथ्वीनारायण शाहलाई दाइजो दिएका थिए तर जेठान दिग्बन्धन सेनले शाहलाई उक्त हात्ती नदिएकाले ज्वाइँ–जेठानको बीचमा मनोमालिन्य जन्मिएको थियो । हात्ती त्यहीँ मरेको थियो । हात्ती मरेको स्थानमा सेतो हात्तीको मूर्ति बनाइएको हो ।
सेनवंशीय मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेन मकवानपुरगढी अन्तर्गत रहेको हरिहरपुर गढीको लडाइँ हारेपछि बंगालका नवाब मीर कासिम अलीसँग सहयोग माग्न गएका थिए । नबाव अलिको सहयोगमा २ हजार लडाकु र एक हजार बन्दोवस्तीसहित ३ हजार फौज लिएर गोर्खा नियन्त्रणमा रहेको मकवानपुरगढीमा विक्रम सम्वत् १८१९ माघ १० गते आक्रमण गरिएको थियो ।
मकवानपुरगढीमा रहेको नन्दु शाहको नेतृत्वको फौज र पृथ्वीनारायण शाहले दहचोकवाट पठाएको वंशीराज पाण्डेको फौजसँग माघ १० गते मीर कासिमका सेना पराजित भएका थिए । विदेशी फौजमाथि विजय प्राप्त गरेको स्मरणमा विजय उत्सव विगत एक दशकदेखि मनाउँदै आइएको छ ।
‘बंगालबाट आएका विदेशी फौजलाई पराजित गर्न नसकेको भए नेपाल एकीकरणको अभियानमा मात्र धक्का लाग्ने थिएन, अहिलेको नेपाल प्राप्त गर्न सक्ने थिएनौं,’ प्रमुख अतिथि एवं आन्तरिक मामिला मन्त्री अधिकारीले भने, ‘विदेशी फौजलाई पराजित गरेर नेपाली बीरता प्रदर्शन गरिएको यही थलो हो ।’
नेपाली फौजबाट मीर कासिम फौज पराजित भएपछि उनीहरूबाट खोसिएका आधुनिक हतियार र सैन्य उत्साहलाई संगठित गरेर पृथ्वीनारायण शाहले राष्ट्रको रक्षाका लागि सैनिक संगठन संरचना निर्माणको अभ्यास सुरु गरेका थिए । पृथ्वीनारायण शाहले त्यतिबेला श्रीनाथ गण, सबुज गण, पुरानो गोरख गण, वर्दबहादुर गण र कालिबक्स गण गठन गरेका थिए । ती गण अहिले पनि छन् । नेपाली सेनाको इतिहासमा मकवानपुर गढीको वीरताको ऐतिहासिक पृष्ठभूमि रहेको छ ।
पाल्पाका राजा मुकुन्द सेनले आफ्ना चार छोरालाई राज्य बाँडेका थिए । मकवानपुर सेनका कान्छा छोरा लुहाङको भागमा परेको थियो । आफ्नो राज्यलाई सुरक्षित गराउन लुहाङले विक्रम सम्वत् १६२२ मा मकवानपुरगढी निर्माण गरेको इतिहासमा उल्लेख छ । नेपालमा भएका गढीहरूमध्ये सबै भन्दा ठूलो मकवानपुरगढी हो । गढीको सुरक्षाका लागि वरिपरि २५ फिट अग्लो र ७ फिट चौडाइ भएको पर्खाल लगाइएको छ ।
वीरताको इतिहास बोकेको ऐतिहासिक मकवानपुरगढीको संरक्षणका लागि गाउँपालिका, प्रदेश सरकार, नेपाली सेना र स्थानीयवासी अहिले संयुक्त रूपमा जुटेका छन् । मकवानपुर गढी गाउँपालिका–२ का वडाध्यक्ष बखानसिंह पाख्रिनको अध्यक्षतामा संचालित उक्त विजयोत्सव कार्यक्रममा मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, नेपाली सेनाका गोरखबहादुर गणका गणपति निराजन धामीलगायतले बोलेका थिए । सरकारले सय वटा महत्त्वपूर्ण गन्तव्यमध्ये मकवानपुरगढीलाई पनि सूचीकृत गरेको छ । उक्त गढी १ हजार १७ मिटरको उचाइमा रहेको छ ।
