मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलमा शनिबार आयोजित सर्वपक्षीय छलफलमा उनीहरुले आचारसंहिता पालना गरे नगरेको प्रभावकारी अनुगमन गर्न पनि आग्रह गरे ।
What you should know
काभ्रे — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्न जिल्लास्थित राजनीतिक दल तथा उम्मेदवारहरुले प्रतिवद्धता जनाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलमा शनिबार आयोजित सर्वपक्षीय छलफलमा उनीहरुले आचारसंहिता पालना गरे नगरेको प्रभावकारी अनुगमन गर्न पनि आग्रह गरे ।
छलफलमा मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले निर्वाचन आचारसंहिता र त्यसको उल्लंघन गरेमा हुने कानुनी कार्बाहीबारे जानकारी गराउँदै पूर्णरुपमा आचारसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवारहरु, सञ्चारमाध्यमसहित सबै सरोकारवालालाई आग्रह गरे ।
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि आचारसंहिताको पालना महत्वपूर्ण रहनेमा न्यौपानेले जोड दिए । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले आचारसंहिता स्वच्छ निर्वाचनको मेरुदण्ड भएकाले पूर्णरुपमा पालना गर्न सबैलाई आग्रह गरे ।
काभ्रे क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत टिकाभुषण घिमिरेले तोकिएको समयमा मात्रै प्रचारप्रसार गर्न राजनीतिक दल तथा सञ्चारमाध्यमहरुलाई आग्रह गरे । पछिल्लो समय एआईको दुरुपयोग गर्दै भ्रामक प्रचार हुनसक्ने सम्भावना रहेको बताउँदै उनले त्यसमा सचेत रहन आग्रह गरे ।
छलफल कार्यक्रममा कांग्रेस काभ्रेका उपसभापति रमेशप्रसाद हुमागाईंले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालनामा प्रतिबद्ध रहेको बताए । उनले चुनावी प्रचार तालिका बनाउँदा दलहरुबीच समन्वय गरेर बनाउन सके चुनावी प्रचारको क्रममा हुने सम्भावित झडप र मुठभेड रोक्न सकिने बताए । यस्तै एमालेका नवराज ढकालले सामाजिक सञ्जालहरुको निगरानी र अनुगमन बढाउनुपर्नेमा जोड दिए । निर्वाचन आचारसंहिताको कार्यान्वयन जति प्रभावकारी बनाउन सकियो त्यति नै स्वच्छ र निष्पक्ष निर्वाचन हुने उनको भनाई थियो ।
रास्वपाका गुणनिधि सापकोटाले निर्वाचनको क्रममा जनप्रतिनिधिबाट सरकारी सवारीसाधनको दुरुपयोग हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न सचेत गराए । सबै दल र उम्मेदवारलाई निर्वाचन आयोगले समान ढंगले व्यवहार गर्नुपर्नेमा पनि उनले जोड दिए ।
कार्यक्रममा समावेशी समाजवादी पार्टीबाट काभ्रे २ मा उम्मेदवार बनेका पारालिंगी समुदायका उम्मेदवार विनोद लामाले लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई निर्वाचन प्रचारप्रसारको क्रममा अपमान गर्ने गरिएको भन्दै आफूहरुको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताए।
काभ्रे २ कै स्वतन्त्र उम्मेदवार आशा तामाङले चुनावी प्रचारमा स्वतन्त्र उम्मेदवारले नेपालको झण्डा प्रयोग गर्न पाउनुपर्ने बताइन् । कार्यक्रमका अन्य सहभागीहरुले विगतका निर्वाचनमा आचारसंहिता उल्लंघन भइरहँदा पनि कारवाही नभएको भन्दै यसपटक भने कडारुपमा अनुगमन र कार्बाही गर्न माग गरे ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रे क्षेत्र नं १ मा १८ जना र क्षेत्र नं. २ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारहरुले अहिले मतदाता भेटघाटलगायतका कार्यक्रम राखे पनि फागुन ४ गतेदेखि मात्रै ठूला आमसभालगायतका तीब्र प्रचारका कार्यक्रम गर्न पाउनेछन् ।
