स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न: खसीको टाउकोदेखि प्रेसर कुकर

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रमा १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

माघ १०, २०८२

प्रताप विष्ट

Independent candidate's election symbol: From goat's head to pressure cooker

What you should know

हेटौंडा — फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका स्वतन्त्र उम्मेदवारहरुले खसीको टाउकोदेखि प्रेसर कुकुरसम्म चुनाव चिन्ह पाएका छन्।

मकवानपुर क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार अमर दंगालले खसीको टाउको, राज कुमार खड्काले प्रेसर कुकर, अमिक परियारले काउली, टिकाप्रसाद चौलागाईले चेसको गोटी, प्रमिला कुमारी खतिवडाले ठेकी चुनाव चिन्ह पाएका छन्। 

यसैगरी मिठु पुलामी मगरले फिरफिरे, राकेश कुमार शर्माले आँप, राजाराम बोगटीले जिप, सुशीला सुवेदीले झोला र ज्ञानसागर लामालाई कैची चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले बताइन्।

यसैगरी क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार अमृत वलले त्रिभुज, कृष्णराम श्रेष्ठले जिप, प्रतिक्षा बानियाँले ठेकी, रमेश आचार्यले क्यामरा र सितामाया वलले ट्रफी चुनाव चिन्ह पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ। 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रमा १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। क्षेत्र नम्बर १ मा १० र क्षेत्र नम्बर २ मा ५ जनाले गरी १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवारलाई रोज्न लगाएर चुनाव चिन्ह प्रदान गरिएको थियो।

चुनावी मैदानमा रहेका राजनीतिक दलका उम्मेदवारले भने निर्वाचन आयोगमा दर्ता भएको चुनाव चिह्न अनुसार निर्धारण भएको प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए।

दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ४४ जनाको उम्मेदवारी कायम भएको छ। निर्वाचन आयोगले तोकेको समयभित्र कुनै पनि दल र स्वतन्त्रका उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि सबै उम्मेदवारी कायम भएको हो। 

मकवानपुर क्षेत्र नम्बर १ मा २३ जना र क्षेत्र नम्बर २ मा २१ जनाले उम्मेदवारी दिएका छन्। क्षेत्र नम्बर १ बाट विभिन्न दलबाट १३ र १० स्वतन्त्र गरी २३ तथा क्षेत्र नम्बर २ बाट विभिन्न दलबाट १६ र ५ स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दिएका छन्।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully