काभ्रेमा निर्वाचन प्रहरीको दरखास्त दिन २ दिन म्याद थप

निर्वाचन तालिका अनुसार सञ्चालन गरिएको शारीरिक, लिखित परीक्षा तथा अर्न्तवार्तामा २ हजार २८३ जना सहभागी भएका थिए।

माघ १०, २०८२

ज्योती श्रेष्ठ

Election police's application deadline extended by 2 days in Kavre

काभ्रे — फागुन२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा निर्वाचन प्रहरीमा दरखास्त दिनको लागि २ दिन म्याद थप गरिएको छ।

जिल्ला प्रहरी काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार निर्वाचन प्रहरीमा दरखास्त दिनका लागि माघ १० र ११ गते गरी दुई दिन म्याद थप गरिएको छ। निर्वाचन प्रहरीमा दरखास्त दिन ईच्छुकले जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको उनले बताए। 

उनका अनुसार निर्वाचनको लागि काभ्रेमा २ हजार २ सय ६९ निर्वाचन प्रहरी माग गरिएकोमा २ हजार ४९३ जनाको आवेदन परेको थियो। निर्वाचन तालिका अनुसार सञ्चालन गरिएको शारीरिक, लिखित परीक्षा तथा अर्न्तवार्तामा २ हजार २८३ जना सहभागी भएको उनले बताए। ‘निर्वाचन प्रहरी माग गरिए अनुसारको आवेदन पर्नुको साथै परीक्षमा सहभागी पनि भएका छन्,’ डीएसपी विष्टले भने, ‘अहिलेको संख्यामा जिल्लामा निर्वाचन प्रहरी पुग्ने देखिए पनि भोलि निर्वाचनको समयमा कोही नआएको खण्डमा, कसैले सहभागी नहुने निर्णय गरेमा नपुग्ने देखिएकाले दरखास्त दिनको लागि म्याद थप गरिएको हो ।’ उनका अनुसार केन्द्रको परिपत्र अनुसार नै दरखास्तको लागि म्याद थप गरिएको हो । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully