यो क्षेत्रबाट एमालेका उम्मेदवारहरु अहिलेसम्म संघीय संसदमा विजयी भएका छैनन्।
What you should know
चितवन — गणतन्त्रपछि देशमा प्रतिनिधिसभा सदस्यका लागि तेस्रो पटक निर्वाचन हुँदैछ। चितवन–३ मा एमालेबाट पहिलो पटक उम्मेदवारी कायम भएको छ ।
यो क्षेत्रबाट मंगलबार एमालेका शंकर थपलिया उम्मेदवार छन्। दाबी विरोध र मनोनयन फिर्ता लिन समय सकिएर उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको भोलिपल्ट शनिबार बिहान थपलियाले भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरे ।
जसमा चितवन–३ मा एमालेले पहिलो पटक उम्मेदवार कायम गरेको प्रसंग उठ्यो । ‘पछिल्ला निर्वाचनभन्दा फरक यो क्षेत्रमा एमालेले पहिलो पटक उम्मेदवार पाएको छ । त्यसैले पार्टीका शुभचिन्तक, समर्थक र नेता कार्यकर्ता सबै उत्साहित छन् । हाम्रो संगठनको आधार पनि राम्रो छ । मेरो जित्ने आधार यही हो,’ पत्रकार सम्मेलनमा थपलियाले भने ।
हाल चितवन–३ कायम भएको क्षेत्र कुनै बेला चितवन–४ र चितवन–५ मा पनि परेको थियो । यो क्षेत्रमा एमालेले पहिलाका निर्वाचनहरुमा पनि चुनावी तालमेल गरेर आफ्नो उम्मेदवार नउठाएको इतिहास छ ।
गणतन्त्र आएपछि पहिलो पटक २०७४ सालमा भएको संसदीय निर्वाचनमा केन्द्रीय रुपमा नै एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भयो । त्योबेला चितवनका तीन क्षेत्रमध्ये दुई क्षेत्रमा एमालेका उम्मेदवाहरु उठे । चितवन–३ मा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उठेपछि एमालेको तर्फबाट उम्मेदवारी नै परेन। २०७९ को संसदीय निर्वाचनमा एमालेले उम्मेदवारी दर्ता गराएको थियो। तर अन्तिम समयमा अचानक उम्मेदवारी फिर्ता लियो ।
२०७९ को निर्वाचनमा एमाले चितवनका तत्कालीन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले नै चितवन–३ मा उम्मेदवारी दर्ता गराएका थिए। सोही क्षेत्रमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको हुँदा कांग्रेसको आधिकारिक उम्मेदवार थिएनन्। कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य दिनेश कोइरलालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। एमालेले स्वतन्त्र उम्मेदवार दिनेश कोइरलालाई समर्थन गर्दै पार्टीका जिल्ला अध्यक्ष न्यौपानेको उम्मेदवारी फिर्ता गराएको थियो।
बहुदलको पुर्नस्थापनापछि पहिलो पटक २०४८ सालमा संसदीय निर्वाचन हुँदा तीन वटा क्षेत्र रहेको चितवनमा वामपन्थी दलहरु गठबन्धन गरेर निर्वाचन लडेका थिए । त्यो पहिलो निर्वाचनमा पनि चितवन–३ मा एमालेको उम्मेदवार थिएनन् । त्यसपछि २०५१ सालको मध्यावधि निर्वाचनमा हालको चितवन–३ समेटिएको तत्कालीन चितवन–४ मा एमालेले पहिलो पटक उम्मेदवारी दियो । त्योबेलामा पनि अन्तिम समयमा बाम तालमेल गर्दै एमालेले तत्कालीन संयुक्त जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्यो ।
त्योबेला उम्मेदवार रहेका विजय सुवेदी २०५६ सालको संसदीय निर्वाचनमा पनि हालको चितवन–३ को अधिकांश भूगोल समेटिएको चितवन–५ बाट उम्मेदवार भए । त्यसपछि २०६४ को संविधानसभा सदस्य निर्वाचनमा पनि उनै सुवेदी यो क्षेत्रबाट उठेका थिए । दोस्रो पटक २०७० सालमा भएको संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट एमालेले दानबहादुर तमाङलाई उठाएको थियो । भरतपुर महानगरपालिकाको २९ मध्ये १९ वटा वडाहरु र माडी नगरपालिका चितवन–३ मा पर्छन् ।
यो क्षेत्रबाट एमालेका उम्मेदवारहरु अहिलेसम्म संघीय संसदमा विजयी भएका छैनन् । कांग्रेस, तत्कालीन संयुक्त जनमोर्चा र जनमोर्चा नेपाल तथा माओवादी केन्द्रका उम्मेदवारका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि यो क्षेत्रमा विजयी भएका छन् । राप्रपाका विक्रम पाण्डे यो क्षेत्रबाट विना चुनावी तालमेल दुई पटक विजयी भएका थिए । २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष तर्फ तेस्रो भए पनि समानुपातिकमा पहिलो भएको थियो ।
