चार वर्षदेखि दृष्टि गुमेर अन्धकारमा बसेका टिकाकुमारी र पातालीमायाको मोतियाबिन्दुको शल्यक्रियापछि ज्योति फिर्ता आएको हो।
What you should know
हेटौंडा — बारा जीतपुर सिमरा नगरपालिका-१६ पिलुवाकी ९२ वर्षीया टिकाकुमारी न्यौपाने र मकवानपुर राक्सिराङ गाउँपालिका-९ डन्डाटारकी ८० वर्षीया पातालीमाया चेपाङ चार वर्षपछि दृष्टि फर्कँदा दंग छन्।
दृष्टि गुमेर चार वर्षदेखि अन्धकारमा बसेका टिकाकुमारी र पातालीमायाको मोतियाबिन्दुको शल्यक्रियापछि ज्योति फिर्ता आएको हो।
मकवानपुर हाडीखोला माइती घरभएकी टिकाकुमारी साहाराविनै भित्रबाहिर गर्न सक्ने भएपछि खुसी छिन् । आँखा देख्न थालेपछि घर वरिपरिको खोरियामा काम गर्न सक्ने भएको पातालीमायाले अस्पतालमा सबैको सामु सुनाइन् । ‘आँखा देख्न पाउँदा मलाई उत्साह र जाँगर बढेको छ । छोराबुहारी नातिनातिनासँगै संसार देख्न पाउनु भनेको ठूलो कुरा रहेछ,’ टिकाकुमारीले भनिन् । हेटौंडा सामुदायिक आँखा अस्पतालका डा. सुनिल थकालीले आँखाको पट्टी खोल्ने बितिक्कै आफु सामुन्ने रहेको कान्छा छोरालाई देखिन् । एक्कासी ‘छोरा आँखा देख्ने भए’ भनेर खुसी हुँदै ठूलो स्वरमा कराइन् । उनका आँखाको पट्टी खोल्दा छोराछोरी र बुहारीहरु वरिपरि थिए ।
चार वर्षदेखि टिकाकुमारी र पातालीमायाले दृष्टिविहीन जिन्दगी गुजारिन् । दिनरात नै अन्धकार भएर बस्नु पर्दा सधै यस्तो होइन्छ की जस्तो लागेको थियो दुवै जनालाई । आँखाको पट्टी खोलेपछि दुवै जनाले हास्दै भने,‘भगवानरुपी डाक्टले आँखा देखाइदिए, अब यताउता हिँड्न र खेतबारीको काम गर्न पनि समस्या हुँदैन होला ।’
दुवै आँखाको मोतियाबिन्दुको शल्यक्रिया गर्न बारा पिलुवाबाट टिकाकुमारी र मकवानपुरको दुर्गम गाउँबाट पातालीमायालाई बिहीबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा ल्याइएको थियो । बिहीबार नै टिकाकुमारी र फातालीमायासहित ८५ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।
दुवै आँखाको शल्यक्रिया गरेको यी दुई जना मात्र हुन्। आँखा अस्पतालका चिकित्सकहरुले बारा, पर्सा, रौतहट र मकवानपुर जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा पुगेर निशुल्क आँखा शिविर आयोजना गरी मोतियाबिन्दुका बिरामी पहिचान गरेका थिए।
रोटरी क्लब मिडटाउन काठमाडौं, रोटरी क्लब हेटौंडा र सामुदायिक आँखाको अस्पतालको संयुक्त आयोजनामा चार जिल्लाका विभिन्न स्थानमा संचालन गरिएको निशुल्क आँखा शिविरमा १ हजार १ सय ३३ जनाको आँखा जाँच गरिएकोमा १ सय ५० जनामा मोतियाबिन्दुका बिरामी भेटिएका थिए । बिरामी र कुरुवाको खानाको व्यवस्थापनसहित मोतियाबिन्दुको निशुल्क शल्यक्रिया गरिरहेको डा. थकालीले बताए ।
