अन्तरपालिका भलिबल उपाधि जुगल ‘बी’लाई

चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विजेता जुगल ‘बी’ ले नगद १ लाख रुपैयाँ प्राप्त गरेको छ।

माघ ९, २०८२

अनिश तिवारी

Jugal 'B' wins inter-city volleyball title

What you should know

सिन्धुपाल्चोक — जिल्लाको मेलम्ची नगरपालिका ७ दुवाचौरमा आयोजित जिल्ला अन्तरपालिका स्तरीय खुला भलिबल प्रतियोगिता २०८२ को उपाधि जुगल गाउँपालिका ‘बी’ ले उचालेको छ।

मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा योङ स्टार युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको बिहीबार अबेर सम्पन्न फाइनल खेलमा जुगल ‘बी’ ले आयोजक योङ स्टार युवा क्लबलाई ५–२को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। रोमाञ्चक बनेको खेलमा जुगल ‘बी’ ले उत्कृष्ट प्रदर्शन गरेको थियो।

तेस्रो स्थानका लागि भएको खेलमा सेलेले हेलम्बु गाउँपालिकालाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ भने हेलम्बु गाउँपालिका सान्त्वना स्थानमा सीमित भएको छ।

चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विजेता जुगल ‘बी’ ले नगद १ लाख रुपैयाँ प्राप्त गरेको छ। त्यस्तै दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन्।

प्रतियोगितामा जिल्लाभरका १४ टिमको सहभागिता रहेको कार्यक्रम संयोजक तथा योङ स्टार युवा क्लबका अध्यक्ष प्रेम तामाङले जानकारी दिए।

विजेता टिमलाई मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ, उपमेयर उमा प्रधान, वडा अध्यक्ष पासाङ तामाङलगायतले पुरस्कार वितरण गरेका थिए। मेलम्ची नगर मेयर तामाङले खेलकुद मनोरञ्जनको माध्यम मात्र नभई स्वास्थ्य, अनुशासन, एकता र राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको बताए।

उनले भलिबलजस्तो खेलले युवामा सहकार्य, नेतृत्व, धैर्य र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले पालिकाबीच आपसी सम्बन्ध मजबुत बनाउनुका साथै स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहनमा ठूलो योगदान पुर्‍याउने बताए।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully