सिन्धुपाल्चोकमा तीन दलबाट चार महिला र एक दलित उम्मेदवार

‘मुख्य दलले जित्ने होडमा महिला र दलित समुदायलाई उम्मेदवार बनाएनन्, न युवा समेटिए, बरू अन्य दल त्यसको बदलामा केही उदार देखिएका छन्,’ कांग्रेसका पुराना नेता लीला नेपालले भनिन् ।

माघ ८, २०८२

अनिश तिवारी

Four women and one Dalit candidates from three parties in Sindhupalchowk

What you should know

सिन्धुपाल्चोक — आगामी प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकमा मुख्य प्रतिस्पर्धी दलको तुलनामा अन्य दल महिला र दलित समुदायलाई उम्मेदवार बनाउन सफल देखिएका छन् ।

जिल्ला मुख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलका अनुसार दुई निर्वाचन क्षेत्रमा १५ राजनीतिक दलबाट ३० जना र ६ जना स्वतन्त्र गरी ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये चार जना महिला र एक जना दलित समुदायका उम्मेदवार रहेका छन् । 

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्षतर्फ महिला वा दलित उम्मेदवार नदेखिादा अन्य दलले भने समावेशितालाई प्राथमिकता दिएका छन् । नेपाल मजदुर किसान पार्टीले निर्वाचन क्षेत्र नं १ मा ५४ वर्षीया गीता देवी कर्मचारी र क्षेत्र नं २ मा २९ वर्षीया म्हेन्दो तामाङलाई उम्मेदवार बनाएको छ । जनता समाजवादी पार्टी नेपालले क्षेत्र नं १ बाट ३४ वर्षीया पासाङ शेर्पालाई उम्मेदवार बनाएको छ । यस्तै, मितेरी पार्टी नेपालबाट क्षेत्र नं १ मा दलित समुदायका राजन सुन्चुरी उम्मेदवार बनेका छन् । Four women and one Dalit candidates from three parties in Sindhupalchowk

यसैबीच, पुष्पकमल दाहाल संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेकपाले समानुपातिकतर्फ भगवती नेपाललाई उम्मेदवार बनाएको छ । ‘मुख्य दलले जित्ने होडमा महिला र दलित समुदायलाई उम्मेदवार बनाएनन्, न युवा समेटिए, बरु अन्य दल त्यसको बदलामा केही उदार देखिएका छन्,’ कांग्रेसका पुराना नेता लीला नेपालले भनिन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार सिन्धुपाल्चोकमा कुल मतदाता संख्या २ लाख ७४ हजार ९ सय ९८ पुगेको छ । १२ स्थानीय तहका १ सय ३ वडामा १ सय ४६ मतदान स्थलमार्फत ३ सय ३८ मतदान केन्द्र तोकिएका छन् । मतदाता विवरणअनुसार जिल्लामा महिला मतदाता संख्या १ लाख ३१ हजार ६ सय ९६ र पुरुष मतदाता संख्या १ लाख ४३ हजार ३ सय २ रहेको छ ।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully