कुखुरा बोकेको बोलेरो दुर्घटनामा सहचालकको मृत्यु

मृत्यु हुनेमा जिपका सहचालक सर्लाही बरहथवा नगरपालिका-१ का १७ वर्षीय रोहन मण्डल रहेका छन् ।

माघ ८, २०८२

प्रताप विष्ट

Co-driver dies in Bolero accident carrying chicken

हेटौंडा — हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाडौंतर्फ गइरहेको जिप मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुलनजिकै दुर्घटनामा हुँदा सहचालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिपका सहचालक सर्लाही बरहथवा नगरपालिका-१ का १७  वर्षीय रोहन मण्डल रहेका छन् । काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा उनको बिहीबार बिहान मृत्यु भएको हो । 

दुर्घटनामा  चालक २५ वर्षीय  रामवली साह र अर्का सहयोगी सहचालक बरहथवा नगरपालिका-१ का १६ वर्षीय छोटे पासवान घाइते भएका छन् । दुवै जनाको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी पुस्कर बोगटीले बताए।

सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म प्र ०३–००१ च ६७२१ नम्बरको कुखुरा बोकेको बोलेरो गाडी बुधबार राति १ बजे ब्रेक फेल भएर सडकबाट ७ मिटर तल खोल्सामा खसेको थियो। ५ सय कुखुरा बोकेको उक्त बोलेरो गाडीमा रहेका ३ सय कुखुरासमेत मरेका छन् ।   

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully