काभ्रेका २३ मतदानस्थल अति संवेदनशील, २२ सय बढी निर्वाचन प्रहरी छनोट गरिँदै

निवार्चनका लागि काभ्रेमा २ हजार २ सय ६९ जना निवार्चन प्रहरी माग भएकोमा २४ सय ९३ जनाले आवेदन दिएका छन्।

माघ ८, २०८२

ज्योती श्रेष्ठ

23 polling stations in Kavre are highly sensitive, over 2,200 election police officers are being selected

What you should know

काभ्रे — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निवार्चनका लागि काभ्रेमा निर्वाचन प्रहरी छनोट अर्न्तगत बिहीबार धुलिखेलमा निर्वाचन प्रहरीको लिखित परीक्षा र अन्तर्वार्ता सम्पन्न भएको छ।

निवार्चनका लागि काभ्रेमा २ हजार २ सय ६९ जना निवार्चन प्रहरी माग भएकोमा २४ सय ९३ जनाले आवेदन दिएका छन्। बिहीबार सम्पन्न भएको परीक्षामा २ हजार २ सय ८३ जना सहभागी भएको जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिए । उनका अनुसार लिखित परीक्षा र अन्तर्वार्ताको नतिजा माघ १२ गते प्रकाशन गरिनेछ। 

निर्वाचनको समयमा जिल्लामा सुरक्षा व्यवस्था कडा पारिने उनले बताए । उनका अनुसार निवार्चनका लागि जिल्लामा रहेका १८९ मतदानस्थलमध्ये २३ वटा अति संवेदनशील र ६५ संवेदनशील र १०१ मतदानस्थल सामान्य रहेका छन् । 

निर्वाचनका लागि नेपाल प्रहरी र मातहत रहने निर्वाचन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिने उनले बताए। उनका अनुसार २४ सैं घण्टा मतदानस्थल र मतदान केन्द्रको निर्वाचनका लागि गस्ती हुनेछ भने निर्वाचन प्रहरी विशेष गरी मतदानस्थल र केन्द्रमा खटिनेछन् । जिल्लामा खटिने २ हजार २ सय ६९ जना निर्वाचन प्रहरीमध्ये नेपाल प्रहरीबाट ११ सय १५ र सशस्त्र प्रहरीबाट ३ सय ५० जना परिचालित हुनेछन् । 

जिल्लाका २ निर्वाचन क्षेत्रमा १ सय ८९ मतदानस्थल र ४ सय मतदान केन्द्र छन् । मतदानका बेला २४ सय कर्मचारी र १२ सय जना स्वंवयसेवक खटिने भएका छन् । प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक निर्वाचन अधिकृत, ३ जना सहायक निर्वाचन अधिकारी र १ जना सहयोगी रहनेछन् भने ३ जना स्वयंसेवक स्थानीय स्तरमा मतदान अधिकृतले नियुक्ति गर्नेछन् । 

यस पटकको निवार्चनमा पनि शिक्षकहरु खटिने छैनन् । ५ सय भन्दा धेरै मतदाता भएको केन्द्रमा ३ जना स्वयंसेवक र कम भएका केन्द्रमा २ जना स्वयंसेवक नियुक्ति गर्ने मापदण्ड कायम गरिएको छ ।

जिल्ला निर्वाचन अधिकृत दिनेश शिवाकोटीले जिल्लाका २ निर्वाचन क्षेत्रमा ३ लाख २६ हजार ६ सय ११ मतदातामध्ये १ लाख ६७ हजार ४ सय ९९ जना पुरुष र ५९ हजार १ सय १० महिला  र २ जना अन्य रहेको जानकारी दिए । उनका अनुसार क्षेत्र नम्बर १ मा १ लाख ६१ हजार १ सय र क्षेत्र नम्बर २ मा १ लाख ६५ हजार ५ सय ११ मतदाता कायम छन् । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully