उम्मेदवारी फिर्ता लिने र उजुरी परेमा छानबिन गरेर अन्तिम नामावली कायम गर्न अझै बाँकी नै छ ।
चितवन — फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार भएको मनोनयन दर्तामा चितवनका तीन निर्वाचन क्षेत्रमा ६० जनाले उम्मेदवारी दिँदा महिलाहरू १८ जना मात्रै छन् ।
चितवनमा महिला मतदाता संख्या बढी छ, तर उम्मेदवार हुनेमा महिला एक तिहाइ पनि पुगेका छैनन् । उम्मेदवारी फिर्ता लिने र उजुरी परेमा छानबिन गरेर अन्तिम नामावली कायम गर्न अझै बाँकी नै छ ।
चितवन जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल मतदाता संख्या ४ लाख ४२ हजार ८२ छ । जसमा महिला २ लाख २४ हजार ७६६ र पुरुष २ लाख १७ हजार ३१४ रहेका छन् । त्यसैगरी अन्य मतदाता दुई जना छन् । मंगलबार चितवन–१ मा १९, चितवन–२ मा २३ र चितवन–३ मा १८ गरी कुल ६० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
दर्ता गराएकामध्ये चितवन–१ मा दुई जना, चितवन–२ मा सात जना र चितवन–३ मा नौ जना गरी कुल १८ जना मात्रै महिला रहेको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट जानकारी प्राप्त भएको छ । चितवन–१ मा राष्ट्रिय जनमोर्चा (राजमो) ले सीतादेवी क्षेत्री र नेशनल रिपब्लिक नेपालले इश्वरी गुरुङलाई उम्मेदवार बनाएको छ ।
चितवन–२ मा नेपाली कांग्रेसले मिनाकुमारी खरेललाई उम्मेदवार बनाएको छ । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले दिर्शनाकुमारी शाही, मंगोल नेशनल अर्गनाइजेसनले ऋषा गोले, आम जनता पार्टीले देवीकुमारी मगर, राष्ट्रिय जनमोर्चाले देवी शर्मा, जनमता पार्टीले निर्मलाकुमारी ठाकुर र नेपाल मजदुर किसान पार्टीले शोभा वासुकलालाई उठाएको छ । कुल २३ उम्मेदवारमध्ये सात जना महिला छन् ।
महिला उम्मेदवार धेरै भएको क्षेत्र चितवन–३ रहेको छ । यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रेनु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोविता गौतमलाई उम्मेदवार बनाएको छ । मुख्य दलदेखि अन्य दलका साथै स्वतन्त्र रूपमा पनि महिलाहरूको उम्मेदवारी दर्ता भएको छ । कुल उम्मेदवार १८ मध्ये चितवन–३ मा आधा, अर्थात् नौ जना महिला छन् । नौ महिलामध्ये चार जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
नेपाल मजदुर किसान पार्टीले बद्रीलक्ष्मी कवाँलाई उठाएको छ । नेशनल रिपब्लिकले सेतीमाया तामाङ र नागरिक उन्मुक्ति पार्टीले हरिमाया महर्जनलाई उम्मेदवार बनाएको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवारी दर्ता भएकाहरूमा इन्द्रमाया पौडेल, रञ्जना पौडेल, पार्वती पौडेल काफ्ले र मधुमाया अधिकारी रहेका छन् भन्ने विवरण निर्वाचन अधिकृतको कार्यालय चितवन–३ ले दिएको छ ।
