मकवानपुर–२ मा चेपाङ समुदायबाट शुभराज उम्मेदवार

२५ वर्षदेखि ६४ वर्षसम्मका उम्मेदवार । ७ जना महिला उम्मेदवार ।

माघ ७, २०८२

प्रताप विष्ट

Shubharaj is the candidate from the Chepang community in Makawanpur-2.

काठमाडौँ — आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर जिल्लाबाट अतिसीमान्तकृत समुदायबाट एक जना चेपाङ उम्मेदवार बनेका छन् ।

संयुक्त नागरिक पार्टीका तर्फबाट मकवानपुर–२ मा शुभराज चेपाङले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ का ३६ वर्षीय चेपाङले उम्मेदवारी दिएका छन् । अतिसीमान्तकृत समुदायबाट उम्मेदवारी दिने उनी एक मात्र हुन् ।

मकवानपुरका दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनेहरू २५ वर्षदेखि ६४ वर्ष उमेर समूहका छन् । उम्मेदवारहरूमध्ये सबैभन्दा कम उमेरका राष्ट्रिय स्वतन्त्र पार्टीबाट मकवानपुर–२ मा उम्मेदवारी दर्ता गराएका प्रशान्त उप्रेती रहेका छन् । मकवानपुर मनहरी गाउँपालिकाका उप्रेतीको उमेर २५ वर्ष मात्र छ ।

उम्मेदवारी दिएका मध्ये सबैभन्दा बढी उमेरका राप्रपाबाट मकवानपुर–१ मा उम्मेदवारी दिएका दीपकबहादुर सिंह रहेका छन् । हेटौंडा उपमहानगरपालिका–२ का सिंह ६४ वर्षीय हुन् । उक्त क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका हेटौंडा उपमहानगरपालिका–५ का टीकाप्रसाद चौलागाईं पनि ६४ वर्षका हुन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुरका दुई वटा निर्वाचन क्षेत्रबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार सम्पन्न मनोनयन दर्ता कार्यक्रममा क्षेत्र नम्बर १ बाट २३ जना र क्षेत्र नम्बर २ बाट २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराउनेमध्ये क्षेत्र नम्बर १ मा १३ जना दलीय उम्मेदवार र १० जना स्वतन्त्र उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा १६ जना दलीय उम्मेदवार र ५ जना स्वतन्त्र उम्मेदवार छन् ।

क्षेत्र नम्बर १ बाट ५ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् भने १८ जना पुरुष छन् । यसैगरी क्षेत्र नम्बर २ बाट २ जना महिला उम्मेदवार छन् । क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने ५ जना महिलामध्ये ३ जना दलीय उम्मेदवार र २ जना स्वतन्त्र छन् । क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने दुवै महिला स्वतन्त्र उम्मेदवार हुन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully