कांग्रेसबाट टिकट लिएर दोलखाबाट प्रतिनिधिसभाको उम्मेदवार हुनका लागि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए।
हेटौंडा — प्रतिनिधिसभाको उम्मेदवार हुनका लागि कांग्रेसका प्रदेशसभा सदस्यबाट राजीनामा दिएका कुन्दनराज काफ्लेले प्रतिनिधिसभाको उम्मेदवार हुन टिकट पाएनन्।
कांग्रेसबाट टिकट लिएर दोलखाबाट प्रतिनिधिसभाको उम्मेदवार हुनका लागि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए। बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीसमेत भइसकेका काफ्लेले सोमबार हेटौडास्थित बागमती प्रदेशसभा सचिवालयमा उपस्थित भएर उपसभामुख अप्सरा चापागाईँ समक्ष राजीनामा बुझाएका थिए।
प्रतिनिधिसभाको उम्मेदवार बन्नका लागि प्रदेशसभा सदस्यबाट राजीनामा दिए पनि उनले टिकट पाउन सकेनन्। कांग्रेसबाट टिकट नपाएपछि मंगलबार बिहान उनले भने, ‘जनताले भोट दिन्छु भनेका थिए, तर कांग्रेसले टिकट दिएन, यहाँ जनताको रुचिअनुसार निर्णय हुँदैन। दोलखाका जनताले मेरो माग गरेपछि बाध्य भएर राजीनामा दिएको हुँ ।
एउटामात्र निर्वाचन क्षेत्र रहेको दोलखामा नेपाली कांग्रेसले पूर्व पत्रकार अजयबाबु शिवाकोटीलाई उम्मेदवारी दिएको छ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने उद्देश्यका साथ बागमती प्रदेशसभाका ६ जना सांसदले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाको कार्यकाल २०८४ मंसिरसम्म बाँकी रहेको छ। प्रदेशसभा सचिवालयका अनुसार राजीनामा दिनेमा कांग्रेसका कुन्दनराज काफ्ले, एमालेका अमनकुमार मास्के र प्रकाश श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल र वसन्तप्रसाद मानन्धर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुनिल केसी रहेका छन्। केसीबाहेक सबै सांसद प्रदेशको मन्त्री भइसकेका छन्।
मास्के, श्रेष्ठ, दुलाल, मानन्धर र केसीले प्रदेशसभा सचिवालयको इमेलमा राजीनामा पठाएका थिए। उनीहरूलाई पार्टीले टिकट दिइसकेको छ।
