सोनाम ल्होसारमा पूजापाठ र झाँकी

धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले हरेक धर्म, भाषा, कला र संस्कृति संरक्षण गरिनुपर्ने बताए ।

माघ ५, २०८२

ज्योती श्रेष्ठ

Puja and tableau at Sonam Lhosar

काभ्रे — जिल्लाका विभिन्न स्थानमा पूजापाठ र सांस्कृतिक झाँकीसहित सोमबार सोनाम ल्होसार मनाइएको छ । बौद्धमार्गी तामाङ समुदायको पर्व जिल्लामा धुमधामसाथ मनाइएको हो । मञ्जुश्री पात्रो अनुसार सोमबारबाट सर्प वर्ष पूरा भएर घोडा वर्ष सुरु भएको छ । 

ल्होसारको अवसरमा काभ्रेको धुलिखेल–४ मा रहेको २८ किलोस्थित बखुन्डोल बुद्धपार्क, धुलिखेल–४ को वडा कार्यालयमा पूजा र सांस्कृतिक कार्यक्रम गरिएको थियो । आदिवासी जनजाति परिषदको आयोजनामा लामा गुरुले पूजापाठ गरेका थिए । त्यस क्रममा विभिन्न झाँकी प्रर्दशन गरिएको थियो भने सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । 

बखुन्डोल बुद्धपार्कमा केही वर्षदेखि ल्होसार विशेष कार्यक्रम हुँदै आएको छ । धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले हरेक धर्म, भाषा, कला र संस्कृति संरक्षण गरिनुपर्ने बताए । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त सबै समुदायबीच सद्भाव, भाइचारा, सहिष्णुता, मेलमिलाप र बन्धुत्वको भावना विकास गर्न यस्ता पर्व सहयोगी बन्ने उनले बताए । 

काभ्रेका तेमाल, रोशी, महाभारत, नमोबुद्ध, खानीखोला, बेथानचोक गाउँपालिकामा तामाङ समुदायले विभिन्न कार्यक्रम गरेर पर्व मनाएका छन् । जिल्लाको महाभारत, खानीखोला, रोशी, चौरीदेउराली, तेमाल, भुम्लु, बेथानचोक गाउँपालिका, नमोबुद्ध , मण्डनदेउपुर नगरपालिकाले पनि यस पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिएका थिए । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully