के कारणले चोट लागेको हो, प्रहरीले अचेत अवस्थामा भेटिएको जनाएपनि तुरुन्तै अस्पताल नलगेर किन वडा प्रहरी कार्यालय पुर्यायो जस्ता विषयको जवाफ आउनु पर्ने समिति संयोजक अधिकारीले बताइन् ।
What you should know
चितवन — जिल्लास्थित पत्रकार अजय गार्खालीको मृत्यु रहस्यमय देखिएको जनाउँदैं पत्रकार महासंघ जिल्ला शाखाले गठन गरेको छानबिन समितिले आइतबार प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।
उपाध्यक्ष शान्ता अधिकारीको संयोजकत्वमा शाखाले समिति गठन गरेको थियो । गोर्खालीको गत मंसिर २० गते भरतपुर अस्पतालमा मृत्यु भएको थियो । भरतपुरमा डेरामा बस्दै आएका उनी मंसिर १९ गते गैंडाकोटस्थित घरमा पुगेर फर्किएका थिए । परिवारले मंसिर २१ गते मात्र उनको निधनबारे जानकारी पाएको थियो । छोराको खोजी गर्दै वडा प्रहरी कार्यालय नारायणगढ पुगेका बाबु गोपाल परियारले सोधखोज गरेपछि मात्र मृत्युबारे खुलेको थियो ।
नारायणगढका विभिन्न गल्लीमा भौतारिरहेका अजयलाई सुरुमा वडा प्रहरी पुर्याइएको थियो । शरीर र टाउकामा चोट देखिएपछि प्रहरीले उपचारका लागि अस्पताल पुर्याएको थियो । गोर्खालीले विभिन्न ठाउँमा टाउको ठोकेकाले चोट लागेको प्रहरीले जनाएको छ । अध्ययन टोलीले पोष्टमार्टम प्रतिवेदनमा टाउकोमा बोधो कस्तुको चोट देखिएको जनाएको छ । दिमागको भित्रि भागमा रगत जमेको र बोधो बस्तुको चोटले निधन भएको प्रतिवेदनमा छ ।
‘पोष्टमार्टमा ब्रेन ह्यामरेजका कारण मृत्यु भयो भन्ने छ । तर, के कारणले ब्रेन ह्यामरेज भयो अध्ययन गर्न आवश्यक छ,’ महासंघले बुझाएको प्रतिवेदनमा उल्लेख छ । के कारणले चोट लागेको हो, प्रहरीले अचेत अवस्थामा भेटिएको जनाएपनि तुरुन्तै अस्पताल नलगेर किन वडा प्रहरी कार्यालय पुर्यायो जस्ता विषयको जवाफ आउनु पर्ने समिति संयोजक अधिकारीले बताइन् । महासंघले शनिबार प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दुधिवा र आशंका नरहने गरी अनुशन्धान पूरा गरिने बताए ।
