पढ्न रुस गएका सुजन युक्रेनमा 'बन्दी', रिहाइको पहल माग गर्दै आफन्त सडकमा

करिब अढाइ वर्षअघि आफूलाई मुक्त गराइ दिन पहल होस् भनेर भिडियो सन्देश पठाएका उनको गत जेठयता परिवारलाई केही खबर छैन।

माघ २, २०८२

रमेशकुमार पौडेल

Sujan, who went to Russia to study, is 'detained' in Ukraine, relatives take to the streets demanding his release

What you should know

चितवन — सुजन सुवेदी पढ्न भन्दै विद्यार्थी भिसामा रुस पुगे। सन् २०२२ अक्टोबर १७ मा चितवन खैरहनी नगरपालिका–३ को धुसेरीबाट रुस गएका सुजन पढ्दा पढ्दै रुसी सेनामा भर्ना भएर युद्ध लड्न युक्रेन पुगे।

पहिलो पटक युद्धबाट फर्केर आए पनि दोस्रो पटक जाँदा उनी युक्रेनी सेनाको कब्जामा परे। करिब अढाइ वर्षअघि उनले आफूलाई मुक्त गराइ दिन पहल होस् भनेर भिडियो सन्देश पठाए। त्यसपछि पनि देशमा तीन वटा प्रधानमन्त्री सरकार फेरिए। तर गएको जेठयता परिवारले सुजनको केही खबर पाएको छैन। ‘करिब अढाई वर्ष पहिले युक्रेनका सञ्चारकर्मीको सहयोगमा हामीले एउटा भिडियो सन्देश प्राप्त गर्‍यौं । जसमा भाईले भरतपुरकी मेयर रेनु दाहाललाई भनेर मलाई बचाउनु भनेको थियो,’ सुजनका दाई सुमन सुवेदीले भने। 

उनी शुक्रबार प्रदर्शनका लागि अन्य स्थानीयसहित भरतपुर आएका थिए । ‘युक्रेनमा सेनाले बन्दी बनाएको सन्देश पाएपछि रेनु दाहाललाई भेटेर त्यतिबेलाका प्रधानमन्त्री पुष्पकमल दाहालसम्म पुगेका थियौं । पछि केपी ओली प्रधानमन्त्री भए र अहिले जेनजी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री छन् तर अहिलेसम्म भाई आउनु त परको कुरा जेठयता सम्पर्क नै टुट्यो,’ सुमनले भने ।

अहिलेको सरकारले आफ्नो माग सुनुवाई गरोस् भनेर प्रदर्शन गर्न लागेको उनले बताए। तर भरतपुरमा प्रहरीले उनीहरुलाई प्रदर्शन गर्नबाट रोकेको थियो । प्रदर्शनका लागि गाउँबाट आएका एक जना पक्राउ परेका छन् । त्यसपछि उनीहरु चौबिसकोठीबाट प्रदर्शन सुरु गर्दै अगाडि नारायणगढ तर्फ लम्कन खोजे । केहीबेरमै उनीहरुलाई प्रहरीले अगाडि बढ्नबाट रोक्यो । ‘हामी भाईको खबर पाइयोस् र रिहाइको प्रक्रिया छिटो सुरुहोस् भन्ने चाहन्छौं । यसका लागि प्रदर्शन गर्दा पनि अवरोध गरियो,’ उनले भने ।

सुमनका माइला भाई हुन् सुजन। सुमन साउदी अरबमा थिए। घरमा बाबुको दुवै मृगौलामा समस्या थियो। आमालाई पनि उपचार गरिरहनु पर्थ्यो । पढ्न भन्दै रुस पुगेका सुजनले सुरुमा १० महिना काम गर्दै पढे । पछि युक्रेनसँग रुसको युद्ध भएपछि काम बन्द भयो। ‘भाईले रुसी सेनामा जागिर खुलेको र राम्रो पैसा पाइने कुरा बाआमालाई सुनाएछ । मैले पनि थाहा पाए र जान हुँदैन भने,’ सुमनले भने । तर रोके पनि बाआमाको उपचारका लागि भाई युद्धमा गएको सुमनले बताए ।

पहिलो पटक गएर १०/१५ दिन बसेपछि सकुशल युक्रेनबाट फर्केका सुजन फेरि दोस्रो पटक गए । दोस्रो पटक जाँदा पनि भाईले फोन, म्यासेज नआए पनि टेन्सन नलिनु फेरि जाँदैछु भनेको सुमनले बताए । तर भाईको फोन, म्यासेज लामो समय आएन । कुर्दै बसेका बेलामा युक्रेनबाट एउटा भिडियो आयो । ‘हामी जानु पर्ने ठाउँमा पटक पटक पुग्यौं । तर सुनुवाइ भएको छैन । जेनजी सरकारले पनि हाम्रो आवाज नसुनेझै लाग्न थाल्यो,’ सुमनले भने। 

उनका कान्छा भाई बीचमा जापान गएका थिए । युक्रेनमा बन्धक बनेका सुजनका विषयमा केही जानकारी नआएपछि उनी पनि जापानबाट घर फर्केका छन् । परिवारसँगै टोल छिमेककाले आफुहरुलाई साथ दिए पनि सरकारले नसुनेको सुमनले गुनासो गरे । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully