१२ कक्षा पास गरेर २० वर्षपछि विहे गर्ने सात चेली सम्मानित

कैलाश गाउँपालिकाले १७ औं गाउँसभाको अवसरमा १२ कक्षा उत्तीर्ण पश्चात २० वर्ष पूरा भई विवाह गर्ने ७ जना चेलीलाई २० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।

माघ २, २०८२

प्रताप विष्ट

Seven girls who passed grade 12 and got married 20 years later honored

What you should know

हेटौंडा — बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुरको एक पालिकाले १२ कक्षा उत्तीर्ण गरेर २० वर्ष पूरा गरी विवाह गर्ने चेलीहरुलाई सम्मान गरेको छ।

जिल्लाको दुर्गम कैलाश गाउँपालिकाले १७ औं गाउँसभाको अवसरमा १२ कक्षा उत्तीर्ण पश्चात २० वर्ष पूरा भई विवाह गर्ने ७ जना चेलीलाई २० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।

सम्मानित हुनेमा कैलाश—९ की आइस्का थापा, वडा—१० की कुमारीमाया स्याङ्तान र एस्तर चेपाङ, वडा–१ की विमला थापामगर र रीता थापामगर, वडा—२ की पुष्पा चेपाङ, वडा–५ की सिर्जना दर्लामीमगर रहेका छन्। 

उक्त पालिकाले विगत तीन वर्षदेखि बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले १२ कक्षा उत्तीर्ण गरी २० वर्ष उमेर पार भएपछि विवाह गर्ने चेलीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्दै आएको छ । ऊक्त कार्यत्रमको प्रभाव समाजमा सकारात्मक परेको गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानको ठम्याई छ । 

उक्त कार्यत्रममा स्वास्थ्यतर्फ नामटार स्वास्थ्य चौकीकी सिनियर अनमि नानीमैया सत्याल, लिच्चे आधारभूत स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट सरफोदिन राउत गद्दी र गोगने स्वास्थ्य चौकीका कार्यालय सहयोगी टोलकुमारी सुवेदीलाई सम्मान गरिएको थियो।

गाउँपालिकाको बिहीबार बसेको १७ औं गाउँसभाले आन्तरिक स्रोततर्फबाट सञ्चालित २ करोड ५१ लाख रुपैयाँ संशोधित बजेट पारित गरेको छ । पालिकाले चालुतर्फ आन्तरिक स्रोतबाट ९ करोड ४२ लाख, पुँजीगततर्फ १५ करोड ४८ लाखसहित २४ करोड ९१ लाख रुपैयाँको संशोधित बजेट कार्यान्वयनमा लैजाने भएको छ। गाउँपालिकाले आन्तरिक स्रोतबाट २ करोड ५१ लाख रुपैयाँ बजेट थप गरेको हो।

यसअघि गत असार १० मा गाउँपालिकाले ५४ करोड २९ लाख रुपैयाँको बजेट ल्याएको थियो। कैलाशले उक्त बजेटमा समावेश भएको विशेष तथा सशर्त अनुदानबापतको रकम भने संशोधन गरेको छैन। कैलाशले १७ वटा आयोजना कटौती गरेको छ भने ४३ वटा योजना थप गरेको छ। १४ योजनामा रकम घटाउनुका साथै ४ योजनामा रकम थप गरेको छ।

सभामा विधायन समितिका संयोजक भुवनसिंह घलानले गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँपालिकाको बेरुजु फर्स्यौट कार्यविधि ०८२, गाउँपालिकाको लेखा समिति गठन तथा सञ्चालन कार्यविधि तथा गाउँसभा सचिवालय स्थापना तथा कार्य सञ्चालन कार्यविधि प्रस्तुत गरेका थिए। 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully