भरतपुरमा खुल्यो मुख्य निर्वाचन अधिकृतको कार्यालय

चितवनमा क्षेत्र नम्बर २ को भरतपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र खैरहनी र रामपुरमा क्रमश: क्षेत्र नम्बर १ र ३ को निर्वाचन अधिकृतको कार्यालय रहने छ ।

माघ २, २०८२

रमेशकुमार पौडेल

Chief Electoral Officer's office opens in Bharatpur

What you should know

चितवन — फागुन २१ को निर्वाचनका लागि चितवनमा शुक्रबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

तीन निर्वाचन क्षेत्र रहेको चितवनमा क्षेत्र नम्बर २ को भरतपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र खैरहनी र रामपुरमा क्रमश: क्षेत्र नम्बर १ र ३ को निर्वाचन अधिकृतको कार्यालय रहने छ ।

भरतपुरमा रहेको उद्योग तथा वाणिज्य कार्यालपमा मुख्य निर्वाचन अधिकृत रहेका चितवन जिल्ला अदालततका न्यायाधीश केदारनाथ पौडेल, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सुरक्षा निकायका जिल्ला प्रमुखहरू, जिल्ला निर्वाचन अधिकारी र अन्य निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरूको उपस्थितीमा कार्यालय उद्घाटन भएको छ ।

क्षेत्र नम्बर १  को निर्वाचन अधिकृतको कार्यालय खैरहनीमा रहेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा रहने छ । क्षेत्र नम्बर १ को निर्वाचन अधिकृत विकास रजक तोकिएका छन् ।

रामपुर कृषि तथा वन विज्ञान विश्व विद्यालय परिसरमा रहने क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालयको निर्वाचन अधिकृत वालकृष्ण निरौला रहेका छन् । 

निर्वाचन आयोगको कार्यतालिका अनुसार आज देशभर मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने छन् । माघ ६ गते उम्मेद्वार मनोनयन दर्ता हुने आयोगको कार्य सूची छ । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार जिल्लाभर कुल मतदाता ४ लाख ४२ हजार ४२ छन् ।

२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा भन्दा ३३ हजार ७४० मतदाता थपिएको उनले बताए । चितवनको क्षेत्र नम्बर १ मा १ लाख ४९ हजार ६२१, क्षेत्र नम्बर २ मा १ लाख ३७ हजार १५२ र क्षेत्र नम्बर ३ मा १ लाख ५५ हजार ३०९ मतदाता रहेका छन् । चितवनमा १६२ मतदानस्थलमा ४९४ मतदान केन्द्र रहेका छन् ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully