बागमती प्रदेश सरकारको ५ करोड अनुदान र भक्तपुर नगरपालिकाको करिब ६ करोड बजेटमा सिटी स्क्यान सेवा सुरु गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए।
भक्तपुर — भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पतालमा बिहीबारदेखि सिटी स्क्यान सेवाको सुरु भएको छ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सिटी स्क्यान सेवाकाे उद्घाटन गर्दै नगरवासीलाई मात्र नभई देशभरका बासिन्दाको उपचारमा गर्न ख्वप अस्पताल तयारी अवस्थामा रहनुपर्ने बताए। ख्वप अस्पतालका चिकित्सकहरुले गुणस्तरीय सेवालाई निरन्तरता दिएर देशभित्र मात्र नभइ आवश्यक परे देश बाहिर गएर पनि स्वास्थ्य सेवा दिनुपर्ने धारणा राखे।
बागमती प्रदेश सरकारको पाँच करोड अनुदान र भक्तपुर नगरपालिकाको करिब ६ करोड बजेटमा सिटी स्क्यान सेवा सुरु गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए।
नगरवासीको स्वास्थ्य सेवालाई सहज, सहज र गुणस्तरिय सेवा दिने उद्देश्यले ख्वप अस्पताल संचालनमा ल्याएको बताउँदै उनले आवश्यकता अनुसार विभिन्न विशेषीकृत सेवा थपिँदै लैजाने उनले बताए। सिटी स्क्यान सेवाको शुभारम्भले यो सेवा लिन महंगो शूल्क तिरेर निजी अस्पताल धाउनुपर्ने बाध्यता हटेको उनले बताए।
अस्पतालका निमित्त निर्देशक डाक्टर मजेस प्रताप मल्लले अत्याधुनिक १ सय २८ स्लाईसदेखि २ सय ५६ स्लाईस फोटो खिच्ने क्षमताको सिटी स्क्यान मेसिनले विभिन्न रोगको सयममै पहिचान गरी उपचारमा सहज हुने विश्वास व्यक्त गरे ।
