प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट उपलब्ध गराएको ९० लाख ७० हजार रुपैयाँ बराबरको रकमबाट प्रदेश प्रहरी कार्यालय हेटौंडाले ३० वटा टीभीएस मोटरसाइकल खरिद गरेको हो।
हेटौंडा — बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौंडालाई ३० वटा मोटरसाइकल हस्तान्तरण गरेको छ ।
मुख्यमन्त्री ईन्द्रबहादुर बाँनियाले बिहीबार एक समारोहबीच प्रदेश प्रहरी कार्यालय प्रहरी नायब महानिरीक्षक अरुण पौडेललाई ३० वटा मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट उपलब्ध गराएको ९० लाख ७० हजार रुपैयाँ बराबरको रकमबाट प्रदेश प्रहरी कार्यालय हेटौंडाले ३० वटा टीभीएस मोटरसाइकल खरिद गरेको थियो।
कार्यक्रममा मुख्यमन्त्री बाँनियाले हस्तान्तरण गरिएको मोटरसाइकलले फागुन २१ गते हुने निर्वाचनमा सहज हुने बताए । जेन–जी आन्दोलनका कारण प्रहरीका केही सवारी साधन ध्वस्त भएकाले समस्या भइरहेको समयमा ३० वटा मोटरसाइकल पनि महत्वपूर्ण हुने बताए।
कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रहरीका लागि हरेक वर्ष भवन निर्माणलगायतका विषयमा प्रदेश सरकारले आर्थिक सहयोग गर्दै आइरहेको जानकारी दिए। कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले जेन–जी आन्दोलनपछि सुरक्षा निकायका लागि सवारी साधनको समस्या भइरहेको समयमा मोटरसाइकल हस्तान्तरणले पनि महत्वपूर्ण काम गर्ने बताए।
प्रहरी नायब महानिरीक्षक पौडेलले प्राप्त दुई पांग्रे सवारी साधन विभिन्न जिल्लाका प्रहरी कार्यालयहरुलाई हस्तान्तरण गरिने बताए। उनले प्रदेश सरकारलाई आगामी दिनमा चार पांग्रे सवारीका साधन पनि उपलब्ध गराउन आग्रह गरे ।
