मकवानपुरमा निर्वाचन प्रहरी हुन २२ सय ६० को आवेदन

मकवानपुरमा आसन्न निर्वाचनका लागि १ हजार ९ सय २३ जना निर्वाचन प्रहरी भर्नाको कोटा छ।

माघ १, २०८२

प्रताप विष्ट

2,260 apply to become election police in Makawanpur

हेटौंडा — आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा निर्वाचन प्रहरीमा बिहीबार साँझ ५ बजेसम्म २ हजार २ सय ६० जनाले आवेदन दिएका छन्।

मकवानपुरमा आसन्न निर्वाचनका लागि १ हजार ९ सय २३ जना निर्वाचन प्रहरी भर्नाको कोटा रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी पुस्कर बोगटीले बताए। 

निर्वाचन प्रहरीका लागि ४९ वर्षकी एक महिलाले पनि जिल्ला प्रहरी कार्यालय हेटौंडामा आवेदन दिएकी छिन्।४ सन्तानकी आमा सुन्तली थिङले गाउँमा आम्दानीको अन्य स्रोत नभएपछि नूनतेल र बालबच्चाको पढाइ खर्चका लागि निर्वाचन प्रहरीमा आवेदन दिएको बताइन्।

‘पैसा कमाउने केही बाटो छैन, बच्चाहरुको किताबकापी र नुनतेल किन्न पनि हम्मे परेकाले आवेदन दिए,’ उनले भनिन् । कक्षा ८ सम्म पढेकी थिङ महिलातर्फ निर्वाचन प्रहरीमा आवेदन दिने जेठी महिला हुन् । 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully