चितवनमा माघ २ देखि ४ सम्म ‘नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो’ हुने

एक्स्पोमा स्वदेशीसँगै विदेशी कम्पनीका एक सयभन्दा बढी स्टल रहने मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सृजल भट्टराईले जानकारी दिए ।

पुस ३०, २०८२

राजु चौधरी

'Nepal Agritech International Expo' to be held in Chitwan from Magh 2 to 4

चितवन — कृषि क्षेत्रको आधुनिकीकरणका लागि चितवनको भरतपुरमा आठौं ‘नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो’ हुने भएको छ । आउँदो माघ २ देखि ४ गतेसम्म चितवन प्रदर्शन केन्द्र भरतपुरमा कृषि क्षेत्रसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी हुन लागेको हो ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा हुने एक्स्पोमा स्वदेशीसँगै विदेशी कम्पनीका एक सयभन्दा बढी स्टल रहने मिडिया स्पेश सोलुसन्सका प्रबन्ध निर्देशक सृजल भट्टराईले जानकारी दिए । प्रदर्शनीमा नेपालसँगै भारत, चीनलगायत देशमा उत्पादित नयाँ कृषि प्रविधि प्रदर्शनी गरिनेछ । 

प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड टेस्टिङ लगायत विस्तृत जानकारी लिन सकिने आयोजकले जनाएको छ । गत वर्ष यो एक्स्पो काठमाडौंमा आयोजना गरिएको थियो । 

एक्स्पोमा देशका विभिन्न ठाउँबाट किसान तथा व्यवसायीको सहभागिता रहने प्रबन्ध निर्देशक भट्टराईले बताए । ‘हामीले देशका सबै स्थानीय तहसँग समन्वय गरिरहेका छौं, सबै ठाउँबाट किसानलाई यहाँ भ्रमणमा ल्याउने व्यवस्था मिलाउँदै छौं,’ भट्टराईले भने ।

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully