निर्वाचनमा भयरहित वातावरण बनाउन जोड

मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले यसलाई सफल बनाउन सबै राजनीतिक दलसित आग्रह गरे ।

पुस ३०, २०८२

ज्योती श्रेष्ठ

Emphasis on creating a fear-free environment for elections

What you should know

काभ्रे — फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ र भयरहित ढंगले सम्पन्न गराउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयले बुधबार आयोजना गरेको अन्तरक्रियामा सहभागी सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाजका प्रतिनिधिले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनुपर्नेमा जोड दिएका हुन् । 

मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले यसलाई सफल बनाउन सबै राजनीतिक दलसित आग्रह गरे । जिल्लाका दुवै क्षेत्रमा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जानकारी दिँदै उनले निष्पक्ष ररुपमा निर्वाचन गराउन तयार रहेको बताए । मनोनयन दर्ताको दिनबाट संयमतापूर्वक र शान्तिपूर्ण रूपमा गतिविधि सञ्चालन गर्न दलसित आग्रह गरे । 

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विगतका अनुभवलाई समेटेर सुरक्षा योजना बनाइएको र त्यसअनुसार सुरक्षा निकाय परिचालित भइसकेको जानकारी दिए । सुरक्षामा चूक हुन नदिने भन्दै दललाई ढुक्क भएर निर्वाचनमा केन्द्रित हुन आग्रह गरे ।  

एमाले जिल्ला अध्यक्ष राजन भूर्तेलले आफ्नो पार्टी निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको बताए । अन्य दललाई पनि आचारसंहिता पालना गर्न अनुरोध गरे । आचारसंहिता पालना भए/नभएको निगरानी गर्न आयोगसित आग्रह गरे । रास्वपा जिल्ला सचिव जीएन सापकोटाले आयोग र सुरक्षा निकायले ठूला र साना दलका उम्मेदवारबीच भेदभाव गरिरहेको गुनासो गर्दै आगामी निर्वाचनमा समान व्यवहार गर्न आग्रह गरे । 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले निर्वाचनका लागि नेपाल प्रहरीबाट १ हजार १ सय १५ जना, सशस्त्रबाट ३ सय ५० जना सुरक्षाकर्मी परिचालिन हुने जानकारी दिए । जिल्लामा २ हजार २ सय ६९ जना निर्वाचन प्रहरी खटिने उनले जानकारी दिए । विगतमा देखिएका सुरक्षा चुनौती औंल्याएर  सुरक्षा योजना बनाइएको शाहले बताए ।

जिल्ला निर्वाचन अधिकृत दिनेश शिवाकोटीले जिल्लाका २ निर्वाचन क्षेत्रमा ३ लाख २६ हजार ६ सय ११ मतदाता रहेको जानकारी दिए । क्षेत्र नम्वर १ मा १ लाख ६१ हजार १ सय र क्षेत्र नम्वर २ मा १ लाख ६५ हजार ५ सय ११ मतदाता कायम छन् । उनका अनुसार निर्वाचन क्षेत्र नम्बर १ को कार्यालय पनौती नगरपालिकामा स्थापना हुनेछ । क्षेत्र नम्बर २ को कार्यालय शैक्षिक तालिम केन्द्र धुलिखेलमा स्थापना हुनेछ । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully