निर्वाचन सफल बनाउन नागरिक संवाद अभियानमा शान्ति समाज

समाजका संस्थापक सभापति मानवअधिकारवादी नेता कृष्ण पहाडीले उद्घाटन गरेको अभियानअन्तर्गत तत्काल ५५ जिल्लामा कार्यक्रम हुनेछ । यो अभियान २२ दिनसम्म चल्नेछ ।

पुस २९, २०८२

रमेशकुमार पौडेल

Peace Society in Citizen Dialogue Campaign to Make Elections Successful

What you should know

चितवन — मानव अधिकार तथा शान्ति समाजले फागुन २१ मै निर्वाचन सम्पन्न गर्नका लागि मंगलबार चितवन भरतपुरबाट नागरिक संवाद कार्यक्रम सुरु गरेको छ ।

समाजका संस्थापक सभापति मानवअधिकारवादी नेता कृष्ण पहाडीले उद्घाटन गरेको अभियानअन्तर्गत तत्काल ५५ जिल्लामा कार्यक्रम हुनेछ । यो अभियान २२ दिनसम्म चल्नेछ ।

उद्घाटन कार्यक्रममा शान्ति समाजको अवधारणापत्र प्रस्तुत गर्दै समाजका महासचिव प्रकाश शाहीले ‘शत्रुताविहीन आचरण, मित्रवत् प्रतिस्पर्धा र घोषित समयमै निर्वाचन अपरिहार्य आवश्यकता’ शीर्षकमा केन्द्रित रहेर जिल्लाहरूमा नागरिक संवाद चलाउने बताए । भदौ २३ को जेनजी आन्दोलनमा राज्यले गरेको निर्मम दमन र हत्या तथा त्यसको आक्रोशको आडमा भदौ २४ मा प्रदर्शनका क्रममा भएको ध्वंशको पृष्ठभूमिमा भदौ २७ मा वर्तमान अन्तरिम सरकार गठन भएको शान्ति समाजको अवधारणापत्रमा उल्लेख छ । 

अन्तरिम सरकार परिस्थितिको उपज भएको र बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा निर्दलीय सरकार लामो समय गए लोकतान्त्रिक मूल्य–मान्यता र नागरिक सर्वोच्चताको खिलाप हुने भएका कारण घोषित मितिमा निर्वाचन अपरिहार्य भएको समाजले जनाएको छ । 

निर्वाचन भए मात्रै लोकतन्त्र लयमा फर्कने समाजको मत छ । तर निर्वाचनलाई बाहुबल र धनबलको कालो छायाँबाट मुक्त राख्नु पर्ने, सबै दल र उम्मेदवारहरूले शत्रुताविहीन आचरण प्रदर्शन गर्दै मित्रवत् प्रतिस्पर्धा गर्न समाजले अपिल गरेको छ ।

संविधान गतिशील दस्तावेज भएका कारण नागरिकको चाहनाअनुरूप बेलाबेलामा संशोधन हुनुपर्ने तर संशोधन गर्दा पछाडि फर्कने नभइ राजनैतिक स्थिरता, सुशासन, विकास र दिगो शान्तिलाई केन्द्रविन्दुमा राखेर निरन्तर अगाडि बढ्ने संकल्पसहित हुनुपर्ने समाजको धारणा छ । जीवनचक्र परिस्थिति सन्तुलन, जलवायु न्याय र अहिंसाको मूल्यलाई संविधानको प्रस्तावनामा नै राख्न समाजले माग गरेको छ । सद्भाव प्रवर्द्धनका लागि योगदान गर्न समाजले सबैलाई आह्वान पनि गरेको छ ।

सामाजिक सञ्जाल, सूचना प्रविधिको विवेकसम्मत प्रयोगका लागि पनि समाजले सबैलाई अनुरोध गरेको छ । सामाजिक सञ्जालको सदुपयोग गर्न, भ्रामक जञ्जाल नबनाउन र अफवाहको पछि नलाग्न, भरपर्दो सूचनाको स्रोतमा मात्र विश्वास गर्न समाजले सबैलाई अपिल गरेको छ । कार्यक्रममा मन्तव्य राख्दै नेपाल बार एसोसिएसन चितवन जिल्ला अदालत इकाइका अध्यक्ष फूलमाया रानाभाटले अहिले निकै चुनौतीपूर्ण समयमा निर्वाचन हुन लागेका कारण सबै मिलेर सफल बनाउन आवश्यक रहेको बताइन् ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully